बुटवल । शुक्रबार बुटवलको देविनगरमा सत्ता गठबन्धनले चुनाबी सभा सम्पन्न गरेका छन् । सभामा बोल्दै गठबन्धन दलका शिर्ष नेताहरुले मतादाताले आसन्न स्थानिय तहको निर्वाचनमा विचार गर्नुपर्ने बेला आएको बताए ।
प्रधानमन्त्री समेत रहेका गठबन्धनका नेता शेर बहादुर देउवाले भने, ‘शंका उपशंका नगरी गठबन्धनका उम्मेदवारलाई मत दिनुहोस् ।’
उनले गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘ गठबन्धनका उम्मेदवारलाई जिताउनु भएको संविधानको रक्षा गर्नु हो, यो राष्ट्रिय आवश्यकता पनि हो । ’
देउवाले अगाडी भने ‘यो गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ’,
देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रस्टाए ।

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान भएको भन्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमसिसि परियोजनाले धेरै फाईदा बुटवललाई हुने पनि उल्लेख गर्नुभयो ।
त्यस्तै काँग्रेस नेता रामचन्द्र पौडेलले अब घरघरमा र अस्पतालका वेडवेडमा पुग्ने मेयर चाहिएको बताउंदै बुटवलमा त्यसको नेतृत्व खेलराज पाण्डेयले गर्ने बताउनु भयो । उहाँले भौगोलिक दृष्टिकोणले पनि बुटवललाई स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताउँदै गठबन्धनका उम्मेदवारले जिते त्यसमा केन्द्रबाट आफूहरुको पनि सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । एमालेको नक्कली राष्ट्रवादका कारण देशले धोका पाएको र नेपाली जनता ठगिएको उहाँले बताउनु भयो ।
उहाँले केपि ओेली प्रबृत्तिको अन्त्यका लागि आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट नदिन आग्रह गरे ।
जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राधानी तोकेको तर एमालेले राजधानी दाङ पुर्याएको बताउँदै गृहमन्त्री खाँणले भने थायी राजधानी बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पुर्याए ? अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’
त्यस्तै माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल बलदेवले गठबन्धनको उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । यसैगरी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतादाताले गठबन्धनको पक्षमा रहेको बताईन् ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महत, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष रश्मीराज नेपाली, माओवादी केन्द्रका रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसीलगायतले पाच दलीय गठबन्धन आवश्यकताको आधारमा संविधान र व्यवस्थाको रक्षाको लागि निर्माण भएको भन्दै गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।
नेताहरुले एमाले सरकार काण्डैकाण्डमा जोडिएको र अब केका लागि भोट दिने ? भनेर प्रश्न गरे । रेल, पानीजहाज, घरघरमा ग्याँसको पाईपलाईनलगायतका तमाम सपनाहरु कहाँ गए भन्दै एमालेलाई प्रश्न गरे ।