
भैरहवा । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित ओमसतिया गाउँपालिकाका जनप्रतिनिधिहरुले पदभार सम्हालेका छन् । ओमसतियाका निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरी पदभार सम्हालेका हुन् ।
सोमबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादवले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफुले जनताको सेवा गर्न सधैं तत्पर रहने बताए । उनले आफुलाई विश्वास गरी निर्वाचित गराएका पालिकाबासीहरुको लागि सदैव निश्पक्ष ढङ्गले काम गर्ने बताए । अध्यक्ष यादवले पदभार सम्हालेकै दिन दुई वटा कामको शुरुवात गरेका छन् । उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पठनपाठनमा सहजताका लागि स्कुल ब्याग उपलव्ध गराउने र त्यस्तै आजकै दिनदेखि पोषण अभियान समेत शुरु भएको घोषणा गरेका छन् ।
त्यस्तै गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष सुनिता चौधरीले आफु जनताको शासक होइन, सेव कनेर काम गर्ने बताइन् । उनले पालिकामा गर्ने हरेक कामहरु जनअपेक्षा अनुरुप गर्ने बताइन् । उनले भनिन्, ‘जनताले जुन विश्वासले चुनेर पठाए त्यो विश्वासमा आँच आउने काम कहिल्यै गरिन्न, सदैव पालिकाबासीहरुको लागि समर्पित हुनेछु ।’
गाउँपालिकाका पुर्व अध्यक्ष हिरा केवटले नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेपश्चात् गाउँपालिकामा बासोबास गर्ने ३४ हजार बढी नागरिकहरुको जिम्मेवारीको बोझ थपिएको बताए । ओमसतिया गाउँपालिकामा पाँच वर्षसम्म कुशलतापूर्वक स्थानीय सरकारको सत्ता सञ्चालन गर्नका लागि गाउँपालकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुबीच सुमधुर सम्बन्ध स्थापना गर्न जरुरी रहेको उनले बताए । ‘चुनावका बखत्मा जनताका बीच लिखित रुपमा गरिएका प्रतिबद्धताहरु निर्वाचित भएर पूरा गर्नुपर्छ, जनताका समस्या र गुनासाहरुलाई आत्मसाथ गर्दै त्यसको दीर्घकालीन समाधानमा सबैले ध्यान पुर्याउनु आवश्यक छ,’ उनले भने ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्राशसकीय अधिकृत सागर गौतमले अहिले पालिकाको बागडोर युवाहरुको हातमा गएको देखेर आफु निकै हर्षित भएको बताए । उनले चुनसुकै राजनीतिक पार्टीबाट चुनाव जितेपनि अबको अगामी दिनमा सबैले काँधमा काँध मिलाएर जनताको कामलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । त्यस्तै गाउँपालिकाका पुर्व उपाध्यक्ष सुन्दरमति हरिजनले जनतालाई सर्वोपरी मानेर काम गनुपर्ने बताइन् । उनले जनताको काममा आफूलाई समर्पित गर्ने किसिमले नवनिर्वाचित जनप्रतिनिधिहरुले काम गर्ने बताइन् ।
प्रमुख प्राशसकीय अधिकृत सागर गौतमको अध्यक्षता, शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलको स्वागत तथा स्वास्थ्य शाखाका दिपक ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा वडा नम्बर ३ का नवनिर्वाचित वडा अध्यक्ष प्रकाश सिंह, वडा नम्बर ६ का शिव कुमार धवल लगायतले बोल्दै आफूहरु जुनसुकै राजनीतिक दलबाट निर्वाचित भएतापनि सबैलाई समेटेर अगाडी बढ्ने बताए । उनीहरुले ओमसतियालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्न पालिकामा हुने कामहरु नयाँ तरिकाले गरिने बताएका थिए ।