
भैरहवा, १० जेठ । नक्कली सुन दिई ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनको सट्टा गोल्डेन कलरका फलामका ढिक्का दिई ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सैनामैना नगरपालिका वडा नम्बर १० शितलापुरस्थित होटलमा दिउसोको समयमा बुटवल-१७ बस्ने ४० वर्षीय धनसौमेलाई पुरानो बाँकि रहेको पैसा दिन्छौ भनी होटलमा बोलाई विभिन्न प्रलोभनमा पारि झुक्याई झट्टा हेर्दा सुन जस्तै देखिने गोल्डेन कलर लगाएको फलामको ढिक्का थान- ९ ( ठुलो ढिक्का-१, सानो ढिक्का-८) दिई निज धन सोमैले हातमा लगाएको सुनको चेन (ब्रासलेट) फुत्काई लगी भागी फरार भएकोमा निज महिलालाई ठगी गरी भागी जाने व्यक्तिहरु निम्न स्थानमा लुकीछिपी वसेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाने क्रममा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरीले ७ गते दिउँसो जिल्ला रुपन्देही कञ्चन गाँउपालिका वडा नं १ हात्तीबजार स्थितबाट २ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाँउपालिका वडा नं ९ धुसुवा बस्ने ३७ वर्षीय काके भन्ने धन बहादुर सुनार र अर्घाखाँचीको मालारानी गाँउपालिका वडा नं ३ स्थायी वतन भई हाल कञ्चन गाँउपालिका वडा नं १ हात्तीबजार बस्ने ३७ वर्षीय नविन भन्ने देव बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार रुपन्देही जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान कार्य भईरहेको छ ।