
जितेन्द्र थारु
भैरहवा, ११ जेठ । क्याम्पसमा बिरामी हुँदा पहिले जस्तो चिन्ता छैन विद्यार्थीहरुलाई । पढ्दापढ्दै विरामी भए विद्यार्थीहरु क्याम्पस हाताभित्र रहेको हेल्थ डेस्कमा जान्छन् र औषधी उपचार गराउँछन् । सामान्य विरामी पर्दा विगत जस्तो समस्या भोग्नु परेको छैन विद्यार्थीहरुलाई ।
क्याम्पसमा पढ्दापढ्दै अकस्मात विरामी परेर अन्य अस्पतालमा उपचार गराउँन जाँदा धेरैको पढाई छुटेको थियो, तर अहिले सामान्य विरामी पर्दा आफ्नै क्याम्पसमा रहेको हेल्थ डेस्कमा उपचार गराउँदा निकै खुशी छन् रुपन्देही क्याम्पसका विद्यार्थीहरु । अहिले सामान्य विरामी पर्दा विद्यार्थीहरु क्याम्पसको हेल्थ डेस्क जान्छन् र उपचार गराउँछन् ।
कोरोना संक्रमणको जोखिम कायमै रहँदा पनि क्याम्पसमा भौतिक कक्षाहरु सञ्चालन गर्नुपर्ने भएपछि क्याम्पसले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना संक्रमणको समयदेखि हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले बताउनुभयो । हेल्थ डेस्क सञ्चालनका लागि एक जना विशेषज्ञ डाक्टर समेत नियुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको समयमा नै हेल्थ डेस्कको स्थापना भएतापनि बुधबार हेल्थ डेस्कको औपचारिक रुपमा उद्धघाटन गरिएको छ । हेल्थ डेस्क प्रमुख नम्रता चौधरीको अध्यक्षता, बसन्तमणि पोखरेलको सञ्चालन तथा मञ्जु खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर-९ का वडाध्यक्ष शेषकान्त भण्डारीले विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील भएर क्याम्पसले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो । ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा क्याम्पसले गरेको लगानी सराहनीय छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले क्याम्पसमा अध्ययनरत ८ सय बढी विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी क्याम्पसको एक कोठामा स्थापना गरिएको हेल्थ डेस्कमा विद्यार्थीको स्वास्थ्य परीक्षण पछि सामान्य औषधी समेत वितरण हुँदै आएको बताउनुभयो । ‘कोरोना संक्रमणको जोखिम रहँदारँहदै क्याम्पस सञ्चालन गर्नुपर्ने बाध्यता भएपछि क्याम्पसमा हेल्थ डेस्क स्थापना गरी यस्तो सेवा प्रदान गरिदै आएको हो,’ उहाँले भन्नुभयो ।

हेल्थ डेस्क प्रमुख डा. नम्रता चौधरीले रुपन्देही क्याम्पस हेल्थ डेस्क स्थापना गर्ने पहिलो क्याम्पस रहेको बताउनुभयो । रुपन्देही क्याम्पस भौतिक र आर्थिक रुपमा अन्य क्याम्पसहरु भन्दा कमजोर भएतापनि विद्यार्थीहरुको संवेदनशील विषयवस्तुमा बलियो रहेको चौधरीले बताउनुभयो । विद्यार्थीहरुमा हुने सामान्य ज्वरो तथा स्वास्थ्य लगायत समस्याहरुको प्राथमिक उपचार हुने गरेको हेल्थ डेस्क प्रमुख डा. चौधरीले बताउनुभयो । उक्त हेल्थ डेस्कले विभिन्न स्वास्थ्य संस्था तथा हेल्थ सेन्टरहरुसँग समन्वय गरी विभिन्न हेल्थ क्याम्पहरु समेत गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
आफुले हालसम्म भैरहवा आसपासका डेन्टल होम, स्किन हेयर एण्ड लेजर सेन्टर, केयर प्लस लगायतका स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरेर काम गर्दै आएको उहाँले बताउनुभयो । क्याम्पसमा हरेक चार महिनामा डेन्टल, ब्लड टेस्ट, छाला परिक्षण लगायतका शिविर सञ्चालन समेत हुदै आएको छ । हेल्थ डेस्कले समन्वय गरेका स्वास्थ्य संस्थाहरुमा क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई उपचार प्रक्रिया तथा उपचार परामर्शमा विशेष छुटको समेत व्यवस्था छ ।