भैरहवा, २२ जेठ । जेठ महिना सकिन दस दिन मात्र बाँकी छ । रुपन्देहीका किसानहरु हिजो आज धानको व्याड राख्नमा व्यस्त देखिन्छन् । असारे धान खेतीका लागि किसानहरु मेसिनको पानीको भरमा भएपनि कोही धानको व्याड राखिसकेका छन् भने कोही राख्ने तर्खरमा छन्् । कोही खेत जोताईमा छन् भने कोही रासायनिक मल जुटाउनमा व्यस्त छन् ।

टन्टलापुर घाम लाग्ने र खडेरी पर्ने महिना भनेर चिनिने जेठमा यो वर्ष भने सुरुदेखि नै पानी पर्न थालेपछि यहाँका किसानहरुले जेठको पहिलो सातादेखि नै धानको व्याड राख्न सुरु गरेका हुन् । जेठको पहिलो सातामै व्याड राखिसकेका किसानहरु एक सातापछि नै रोपाईँ गर्ने सुरमा देखिन्छन् । तर धान खेतीका लागि पर्याप्त मात्रामा रासायनिक मल नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।
केन्द्रिकृत शासन प्रणाली व्यवस्थामा किसानहरु जसरी रासायनिक मलको समस्या झेल्दै आएका थिए त्यसरी नै विकेन्द्रिकृत शासन प्रणाली व्यवस्थामा झेल्नुपरेको छ । किसानहरु रासायनिक मल पर्याप्त मात्रामा पाउने आस राखेपनि अवस्था जस्ताको त्यस्तै छ । व्यवस्था बदलियो तर अवस्था बदलिएन । किसानलाई कहिले सिँचाईको समस्या त कहिले मलको समस्या । यसरी किसानको जिन्दगी अभावै अभावमा बितिरहेको छ ।
हरेक वर्षजस्तै यो वर्ष पनि किसानहरुले मलको समस्या भोग्नु पर्ने अवस्था सिर्जना भएको छ । सरकारले किसानहरुको माग अनुसार रासायनिक मल समयमै आयात गर्न नसक्दा विगतका वर्षहरु जस्तै यो वर्ष पनि रासायनिक मलको समस्या हुन सक्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाले जनएको छ । मलखाद्य वितरण गर्ने जिम्मेवारी कृषि सामग्री कम्पनीले पाएता पनि कृषि मन्त्रालयले समयमै पर्याप्त मात्रामा मल आयात गर्न नसक्दा समस्या सिर्जना भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नारायण प्रसाद शर्माले बताए ।
कृषि सामग्री कम्पनी भैरहवामा पहिलो स्टकमा ४ हजार १ सय ८७ मेट्रिक टन डिएपी र १ हजार ९ सय मेट्रिक टन पोटास आयात भएको छ, जुन जेठ महिनासम्मको मागलाई मात्र थेग्न सक्छ । किसानहरुका लागि आवश्यक पर्ने डिएपी, पोटास कम्पनीसँग केही मात्रामा स्टक रहेतापनि युरिया मलको स्टक भने शून्य रहेको कम्पनीका प्रमुख शर्माले बताए ।
कृषि सामग्री कम्पनी भैरहवाले लुम्बिनी प्रदेशको रुकुम काहेकका सबै जिल्ला, गण्डकी प्रदेशको स्याङजा, पूर्व–नवलपरासी, कर्णाली प्रदेशको सल्यान, सुर्खेत र सुदुरपश्चिमको धनगढी, डोटी र महेन्द्रनगरसम्म मलखाद पठाउने गरेको छ । सरकारले प्रादेशिक कार्यालय माताहतका जिल्लाहरुका लागि वार्षिक ४४ हजार ३ सय मेट्रिक टन युरिया, ३० हजार ४ सय ५० मेट्रिक टन डिएपी र २ हजार ३ सय ९८ मेट्रिक टन पोटास पठाउने लक्ष्य राखेर काम गरेको हुन्छ तर यो क्षेत्रमा वार्षिक १ लाख मेट्रिक टन युरिया, ६० हजार मेट्रिक टन डिएपी र ५ हजार मेट्रिक टन पोटासको माग रहेको छ ।
रुपन्देहीमा मात्रै यो वर्ष धान खेतीका लागि ५ हजार मेट्रिक टन डिएपीको माग रहेको छ तर अहिलेसम्म रुपन्देहीमा ८ सय ५ मेट्रिक टन मात्रै पठाउन सकिएको कम्पनीले जनाएको छ । धान रोपाईं गर्ने समय नजिकिएसँगै पर्याप्त मात्रामा मलखाद नपाएपछि रुपन्देहीका किसानहरु भारतबाट मलखाद आयात गर्न थालेका छन् । धान खेतीकै मुखमा किसानहरुले सहज रुपमा पर्याप्त मात्रामा मलखाद नपाएपछि भारतबाट मल ल्याउन बाध्य रहेको रोहिणीका किसान बिन्ध्याचल यादवले बताए । “यदि नेपाली मलखादको आशा गर्ने हो भने किसानहरु बिना मल रोपाईं गर्नुपर्ने अवस्था समेत सिर्जना हुन सक्छ,” उनले भने ।
रुपन्देहीका स्थानीय तहहरुले मलखादका लागि सक्दो पहल गरेता पनि सरकारले कृषि सामग्री कम्पनीमा मल आयात नगरिदिँदा स्थानीय तहहरु मुकदर्शक बनेका छन् । जिल्लाको रोहिणी गाउँपालिकाका कृषि शाखा प्रमुख जितेन्द्र यादवले कृषि सामग्री कम्पनीले स्थानीय तहहरुमा माग अनुसारको मलखाद नपठाउँदा समस्या परेको बताए । “रोहिणी गाउँपालिकामा यो वर्ष ३ हजार ३ सय ७५ मेट्रिक टन युरिया, १ हजार १ सय ७ मेट्रिक टन डिएपी र ८ सय ३ मेट्रिक टन पोटासको माग छ । तर रोपाई सुरु हुनै लाग्दा रोहिणी कुनै मल उपलव्ध हुन सकेको छैन,” उनले भने । गत वर्ष पनि कम्पनीले रोहिणीमा मागको २५ प्रतिशत मात्र मल उपलव्ध गराएको थियो ।
त्यस्तै ओमसतिया गाउँपालिकाका कृषि शाखा प्रमुख केशव चौधरीले कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा मल उपलव्ध गराउन नसक्दा मलखाद वितरण गर्न ठूलो समस्या हुने गरेको बताए । “रोपार्इंको समयमा रासायनिक मलको माग धेरै हुन्छ तर कम्पनीले पर्याप्त मात्रामा मल उपलव्ध नगराईदिँदा सीमित मात्राको मल कसलाई दिने कसलाई नदिने ठूलो समस्या हुन्छ,” उनले भने । ६ वटा वडा रहेको पालिकाभर ९ वटा कृषि सहकारीहरु मार्फत् मलखाद वितरण गर्दै आएको चौधरीले बताए । मलखाद वितरणमा सहजताका लागि यो वर्षदेखि कृषक कार्ड बनाई सोही अनुसार मल वितरण गरिने उनले जानकारी दिए ।