भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-९ स्थित रुपन्देही क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरुले स्वागत गरेका हुन् ।
शनिबार बिबि एस र बीएड दोस्रो दोस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा भएको एक औपचारिक कार्यक्रमका बीच बिबि एस र बीएड प्रथम वर्षका विद्यार्थीहरुलाई भव्य रुपमा स्वागत गरिएको क्याम्पसले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद बस्यालले अहिलेको परिस्थितिमा विद्यार्थीहरुले किताबी ज्ञानभन्दा नैतिक ज्ञानआर्जन तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरु स्वयमले भव्य कार्यक्रमको आयोजना गरी सफलतापुर्वक सम्पन्न पारेको देखेर खुशी हुँदै भन्नुभयो, “यसले क्याम्पसको उचाईमा थप ईट्टा थपिएको छ ।”
त्यस्तै क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले विद्यार्थीहरुकैे कडा मिहिनेत र लगनशीलताले नै क्याम्पसको उचाई यहाँसम्म पुगेकाले नवआगन्तुक विद्यार्थीहरु पनि सो पथमा लम्कि क्याम्पसको गरिमा कायम राख्न सफल हुने विश्वास र शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै पुर्व क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले अहिलेको शैक्षिक प्रतिस्पर्धाको युगमा क्याम्पसको शैक्षिक गुणस्तर बढाउन विद्यार्थीहरु सक्रिय हुनुपर्ने बताउनुभयो ।

बिबि एस दोस्रो वर्षकी विद्यार्थी अनुष्का पाठकको सभापतित्वमा भएको कार्यक्रममा अतिथिहरु लीलामणि पाण्डे, मञ्जु बराल, शारदा गौतम, लीला पौडेल, बसन्त बस्नेत, डिल्लीराज भट्टराई, तीर्थ विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
स्नातक दोस्रो वर्षकी विद्यार्थी अस्मिता अधिकारीको सञ्चालनमा भएको उक्त कार्यक्रमको संयोजन स्नातक दोस्रो वर्षका अनिष पाण्डे, प्रदिप पाल, दिप्ति ढुङ्गाना र विवेक ठकुरीले गरेका थिए ।