
परासी, २३ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं. ५ पर्ने सदरमुकाम परासीमा दिउँसै गोली चलेको छ । सम्पूर्ण सम्पति अर्थात अंश हात पार्नका लागि भतिजाले आफ्नै काकी माथि सोमबार गोली प्रहार गरेका हुन् ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वार्ड नं. ४ मंगलापुर बस्ने वर्ष ३२ को हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका हुन् । पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए ।
सुरुमा गोली प्रहार गरेको देखेकी रोशनी आतिदैं भागेपछि पुन: प्रहार गरेको गोलीबाट उनी बचेकी हुन् । जिल्ला अदालत देखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली चलेपछि स्थानीय आतंकित बनेका थिए । हर्षरामका बाबुका दुई भाई हुन् । दुई भाईको अंशमा गाउँमा १८ कट्ठा र सदरमुकाम परासीमा ९ धुर जग्गा रहेको उनका कानुन व्यवसायीले बताएका छन् ।
सन्तान विहिन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायका साथ हर्षरामले गोली हानेको आफन्तहरुले बताएका छन् । दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकी माथि गोली प्रहार गरेका हुन् । घटना स्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको छ ।
गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताए ।