
पशुपति यादव
धकधई । रुपन्देहीको रोहिणी गाउँपालिकामा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी -३ बैकुण्ठपुरस्थित रोहिणी पुल नजिकै उक्त दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।
शुक्रबार भएको उक्त कार्यक्रममा सवारी चालकहरुलाई सवारी साधन चलाउँदा अपनाउनुपर्ने ट्राफिक नियमहरुबारे जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी कार्यालय धकधईका इन्चार्ज कृष्ण बहादुर पुनले दुर्घटना हुने कारण र दुर्घटना न्यूनीकरणका उपायबारे बताएका थिए । उनले दुर्घटना हुने मुख्य कारणहरुमा सवारीको ब्रेक फेल, २० वर्ष पुराना सवारी, चालकलाई तनाव, सवारीको तिब्र गति रहेको बताए ।
साढे पाँच सय भन्दा बढी लामो दुरीमा गुड्ने सवारी साधनहरुमा दुई जना चालक राख्नुपर्ने उनले जनाए । त्यस्तै सडक लेनको सही प्रयोग गर्ने र मापसे गरी सवारी नचलाउन आग्रह गरे । साथै उनले सडक दुर्घटना न्युनिकरणका लागि स्थानीय तहहरुले सडकमा ट्राफिक सचेतनाका होडिङ वोर्ड राख्न सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा धकधई सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश यादव, प्रहरी हवल्दार मुक्ति यादव, अकलेश यादव लगायतको उपस्थिति रहेको थियो ।