
भैरहवा । जन्मेदेखि नै आँखा देख्न नसक्ने रुद्रको आँखाको उपचारका लागि सहयोग जुटिरहेको छ । महामानव गौतमबुद्धको प्रवेशद्धार मानिने भैरहवाबाट लामो समयदेखि प्रकासन हुँदै आएको लुम्बिनीखबर पत्रिकामा रुद्रको बारेमा सामाचार प्रकाशन भएपछि उनको आँखाको उपचारका लागि सहयोग जुट्न थालेको हो ।
भर्खर ९ महिना उमेर पुगेका रुपन्देहीको ओमतिया गाउँपालिका वडा नम्बर ३ लालपुरका रुद्र थारुको आँखा उपचारका लागि आर्थिक सहयोग जुट्न थालेपछि उनका परिवारमा केही आश पलाएको छ । आर्थिक अवस्था दयनीय रहेको रुद्रको परिवार उनको आँखाको समस्याको विषयलाई लिएर निकै चिन्तित थियो । तर उपचारका लागि विभिन्न सहयोगी व्यक्तिहरुबाट आर्थिक सहयोग प्राप्त हुँदै गएपछि अब रुद्रको संसार देख्ने सपना पुरा हुन्छ भनि उनको परिवार हौसिएको छ ।
रुद्रलाई संसार देखाउने भनि एउटा अभियान नै चलाइएको छ । जुन अभियानमा थारु पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष मञ्जित कुमार चौधरीले सहयोगीको रुपमा ठुलो भूमिका खेल्नु भएको छ । हालसम्म उक्त अभियान मार्फत् एक लाख बढी सहयोग रकम जुटेको सामाजिक अभियन्ता तथा थारु पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष चौधरीले बताउनुभयो ।
रुद्रको आँखाको उपचारका लागि उक्त अभियानमा तिलोत्तमा नगरपालिका वडा नं. ४ डिंगानगर र हाल हङकन बस्दै आएका कमल कुमार थापाले २५ हजार, देवदह-७ बुद्धपार्कका सन्देश चौधरी ५ हजार १ सय ५५, तिलोत्तमा-९ ज्ञनोदय टोलका दुर्गा प्रसाद पाण्डे ५ हजार १ सय १७, देवदह-७ हाल साउदी अरेविया बस्दै आएका आकाश ३ हजार २ सय, तिलोत्तमा-९ ज्ञनोदय टोलका विजय न्यौपाने ३ हजार, शिवराज न.पा.-१ कपिलवस्तुका जय चौधरी १ हजार सहयोग गरेका छन् ।
यस्तै सोही अभियानमा सहयोग गर्नका लागि विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाहरुले आश्वासन पनि दिएका छन् । ओमसतिया गाउँपालिका-६ का वडा अध्यक्ष शिवकुमार धवलले उक्त अभियानमा २५ हजार सहयोग गर्ने जानकारी दिनुभएको छ । साथै उहाँले आफु गाउँपालिकाबाट पनि रुद्रको आँखाको उपचारमा सहयोगका लागि पहल गरिरहेको बताउनुभयो । त्यस्तै वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश सिंहले पनि रुद्रको उपचारका लागि वडाबाट आर्थिक सहयोगका लागि पहल गरिरहेको बताउनुभयो । उहाँले रुद्रको उपचारको लागि विभिन्न सामाजिक संघसंस्थाहरुसँग आर्थिक सहयोगका लागि अपिल समेत गरेको बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएको कारण रुद्रको आँखाको उपचार उनको परिवारका लागि ठुलो समस्याको विषय बनेको छ । प्रत्येक आँखाको दुई पटक अपरेशन गर्नुपर्ने हुँदा रुद्रको आँखाको उपचारका लागि जुट्दै गरेको सहयोगले पनि नपुग्ने उनको परिवारको भनाई छ । त्यसैले हामी सबैले रुद्रलाई संसार देखाउनका लागि सक्दो सहयोग गर्न जरुरी छ । आशा गरौं रुद्रले छिट्टै संसार देख्न सकुन् । आँखा नदेखैकै कारण भविष्यमा रुद्रलाई ठक्कर खान नपरोस् ।