
पशुपति यादव
धकधई । रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६२ करोड १९ लाख ९५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
अगामी आर्थिक वर्षको बजेटको आम्दानी स्रोतमा आन्तरिक आयबाट २ करोड ५७ लाख, संघीय सरकारबाट ४५ करोड ८७ लाख १० हजार, प्रदेश सरकारबाट ४ करोड ८५ लाख ८५ हजार, बैंक मौज्दात ६ करोड ५० लाख र जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख प्रक्षेपण गरिएको छ ।
गाउँपालिकाको प्रस्तुत बजेटले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेको छ । वडा नम्बर २ का वडा अध्यक्ष करम हुसेन खानले प्रस्तुत गरेको बजेटबाट आर्थिक विकास तर्फ २ करोड ९९ लाख, सामाजिक विकास तर्फ २३ करोड ६६ लाख ४५ हजार, पूर्वाधार विकास तर्फ २० करोड ९० लाख, सुशासन तथा विपद व्यवस्थापन क्षेत्रमा ४ करोड १४ लाख, कार्यालय सञ्चालन तथा व्यवस्थापनमा ९ करोड ९७ लाख र वडा कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि ५३ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्यमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण गरी व्यवस्थित र अद्यावधिक गरी नीति अवलम्बन गर्न सशर्त तर्फ १२ लाख बजेट विनियोजन गरेको छ । यस्तै ठूला योजनाहरु संघ र प्रदेश सरकारसँगको सहभागितामा सञ्चालन गर्ने नीति अवलम्बन गरी संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा हुने समपुरक योजनाका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकामा घर नभएका अति विपन्न परिवारलाई संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा तथा गाउँपालिको समेत आफ्नै लगानीमा घर निर्माण गराई नागरिकहरुको आवासको सुनिश्चितता प्रदान गर्ने नीति लिई सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको शुरुबाट नै कार्यान्वयन गर्न संघीय सरकारको सशर्त ५५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको आफ्नै प्रशासनिक भवन नभएको कारण प्रशासनिक भवन निर्माणका लागि ३ करोड ७० लाख बजेट विनियोजन भएको छ ।
भौतिक पूर्वाधार विकास तर्फ वैकल्पिक उर्जा समेतको प्रयोग गर्दै गाउँपालिकाका बजार क्षेत्रहरुामा उज्यालो कार्यक्रमका लागि २३ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै गुणस्तरीय शिक्षा रोहिणीको प्रतिवद्धता भन्ने मुल धेय सहित सबै बालबालिकालाई विद्यालयमा अनिवार्य पठाउँ, सिकाउँ र टिकाउँ भन्ने अभियान सहित सामुदायिक, धार्मिक विद्यालयहरुमा भौतिक पूर्वाधार विकास संगै गुणस्तरीयता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको लागि २ करोड ४५ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै गाउँपालिकामा सञ्चालन भइरहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापन गर्नको लागि १५ लाख र गाउँपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुमा अत्यावश्यक औषधीको व्यवस्थापनका लागि १५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विद्या कुमार यादवले बताए । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना मार्फत् व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न थप १८ लाख बजेट विनियोजन गरिएको अध्यक्ष यादवले बताए ।
स्थानीय कच्चा पद्धार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रवद्र्धन गर्न सीपमुलक तालिमको व्यवस्था गरी उत्पादित वस्तुहरुको बजारीकरण सुनिश्चित हुने व्यवस्था गर्न २९ लाख, त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारीको सिर्जना गराउन कार्यक्रमका लागि ३३ लाख बजेट विनियोजन गरिएको छ ।
कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाले कृषि उपज तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भरताका लागि उद्यमशीलताको प्रवद्र्धन गर्न मल, विउ, कीटनाशक औषधीको उपलब्धता, उत्पादित वस्तुको भण्डारण आदिको उचित व्यवस्थापन गर्नुका साथै धान र गहुँको विउ किसानलाई सहज रुपमा पुर्याउन ५० प्रतिशत अनुुदान दिन बजेट विनियोजन गरिएको छ ।