logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ट्राफिक राजस्व संकलनमा कमी


    २३ असार २०७९ , बिहिबार

    ट्राफिक राजस्व संकलनमा कमी

    जितेन्द्र थारु

    भैरहवा। जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले ओभरलोड बोकेका ट्रकहरु लगायतका सवारी साधनहरुलाई गर्ने कारवाहीबाट राजस्व असुली कम देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ओभरलोड बोकेका ट्रकहरुलाई कारवाही गर्दा मासिक रुपमा बढी मात्रामा राजस्व असुली गर्ने गर्छ जुन पछिल्लो चरणमा घट्दो क्रममा देखिएको छ ।

    आर्थिक वर्ष २०७८/०७९ श्रावण देखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत बैशाख महिनाको तुलनामा जेष्ठ महिनामा २२ हजार ५ सयले राजस्व संकलनमा कमी आएको कार्यालयले जनाएको छ । गत जेष्ठ महिनमा जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले ५३ लाख २५ हजार ५ सय रुपैँया राजस्व संकलन गरेको थियो । सोही अवधिमा गत बैशाख महिनामा ५३ लाख ४८ हजार राजस्व संकलन भएको थियो । जुन अघिल्लो महिना भन्दा १४ लाख ६५ हजारले कम हो ।

    यता सवारी साधन तथा चालकलाई कारवाहीको संख्यामा पनि कमी आएको छ । गत चैत्र महिनामा ६ हजार ७ सय ५० सवारी साधनलाई कारवाही गरिएको थियो भने बैशाख महिनामा ५ हजार ४ सय ६९ वटा सवारी तथा चालकलाई कारवाही गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै कार्यालयले जेष्ठ महिनामा ५ हजार ४ सय ३१ सवारी तथा चालकलाई कारवाही गरेको छ । राजस्व संकलन सबैभन्दा बढी क्षमता भन्दा बढी भारी बोक्ने तथा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई गरिएको कारवाहीबाट हुने गरेको कार्यालयले जनाएको छ ।

    आर्थिक वर्ष २०७७/०७८ मा ५८ हजार १ सय ८४ सवारी तथा चालक कारवाही गर्दा ५ करोड ७३ लाख १० हजार ५ सय राजस्व संकलन भएको थियो । त्यस्तै चालु आर्थिक वर्ष २०७८/०७९ को जेष्ठ महिनासम्म कुल ६१ हजार ४ सय ५० सवारी कारवाहीमा पर्दा ६ करोड ४७ लाख ९३ हजार राजस्व संकलन भएको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी देखिन्छ । तर अपेक्षा अनुसारको राजस्व संकलन भने हुन नसकेको कार्यालयले जनाएको छ ।

    समग्रमा जिल्ला ट्राफिक कार्यालयको राजस्व संकलनमा स्थानीय तहको निर्वाचनले असर गरेको कार्यालयले जनाएको छ । निर्वाचनका बेला अधिकांस सवारी साधनहरु राजनीतिक दलका कार्यकर्ताहरुले प्रयोग गरेको तथा सवारी चेकजाँचमा समेत कमी आएकाले पनि राजस्व संकलनमा कमी आएको हो । संकलित राजस्व र कारवाहीमा पर्ने सवारी साधनको संख्याले ट्राफिक प्रहरीको सक्रियता देखाए पनि सडक दुर्घटनामा भने कमी आएको छैन । जिल्लामा प्रत्येक वर्ष दुर्घटनाको दर बढ्दो छ । प्रहरीले भने राजस्व संकलनभन्दा दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनामा जोड दिएर कारवाही गरिएको दावी गरेको छ ।

    प्रहरीको तथ्यांक अनुसार ट्राफिक नियम उल्लंघन गर्नेमा एक नम्बरमा ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल देखिएका छन् । चालु आर्थिक वर्षको जेष्ठ महिनासम्म ५२ हजार ३ सय ७ वटा ट्रक र २ हजार ९ सय ७५ वटा मोटरसाइकल कारवाहीमा परेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.