
नरेश के.सी./प्रतिक पौडेल
भैरहवा । १२ बर्ष अघि थालनी भएको गोरुसिंगे- बुटवल-लुम्बिनी १३२ केभिएले पुणर्ता पाएको छ । आयोजना अन्तर्गतको मैनिहीया सब स्टेशनको शुरुवातसँगै रुपन्देहीको दक्षिणी क्षेत्रमा भईरहेको विद्युतिय समस्या समाधान हुने देखिएको छ । बुटवल-गोरुसिंगे-लुम्बिनी १३२ केभिए आयोजना २०६७ सालमा सुरु भई ०७२ सालमै सक्नुपर्ने आयोजना थियो तर समयमै शुरु हुन सकेको थिएन । २०७२ चैतमा बिधिवत रुपमा शुरु भएपनि बिभिन्न अवरोधका कारण काम रोकिदै आएको थियो । मैनिहिया सब स्टेशनको शुरुवातसँगै रुपन्देहीको दक्षिणी क्षेत्रको विद्यूतिय अनियमितता धेरै हदसम्म समाधान हुने नेपाल विद्यूत प्राधिकरण भैरहवा शाखा प्रमुख अवधेक कुमार दुवेले बताउनुभयो ।
विभिन्न विवादको कारण समयमै काम हुन नसकेको उक्त आयोजना पुरा गर्न मैनिहीया सब स्टेशन रहेको रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने सांसद घनश्याम भुसालको मुख्य सक्रियता रहेको स्थानिय मनोज रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोकिएको योजनालाई गती दिन घनश्याम भुसालको अग्रसरता र नेपाल विद्युत प्राधिकरणको सहयोगकै कारण आज आयोजनाले अन्तिम चरणमा प्रवेश गरेको हो । यो खुसीको क्षण हो ।’
नेपाल विद्युत प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल-लुम्बिनी प्रसारण लाइनमा विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ ।
मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडरको लाइन तानिएको पाण्डेले उल्लेख गर्नुभयो ।
१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ ।
मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया-सम्पत्तिया बन्नेपछि नेपाल-भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ । आयोजनाको कुल लागत भने १ अर्व १९ करोड रहेको छ ।
आयोजनाको शुरुवाति चरणमा योगीकुटीबाट सिद्धार्थ राजमार्ग हुदै सिधै ठुटिपीपल सम्म र त्यहाँबाट मैनिहिया लैजाने योजना थियो तर स्थानियहरुले विरोध गरेपछि रुट फेरिएको थियो । रुट फेरिदा मगरघाट हुदै शुद्धोधन गाउपालिकाको विभिन्न क्षेत्र हुदैं सियारीको मैनिहीया स्थित सबस्टेशनमा पुगेको छ । त्यस क्रममा पनि विभिन्न व्यक्ति समुहले अवरोध सृजना गरेका थिए । बुटवलका केहि व्यवसायीहरुले भैरहवा तर्फ सबस्टेशन बनाउन दिनुहुदैन भनेर खुलेरै यसको विरोध समेत गरेका थिए । उनीहरुले पोल समेत ढालिदिएका थिए । जसको कारण आयोजनाको काममा अवरोध समेत भएको थियो । यद्यपी उक्त आयोजनाले १२ बर्ष पछि भएपनि पुणर्ता पाएको छ ।
व्यवसायीहरुको साझा संस्था सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले मैनिहीया सब स्टेशनको सन्चालनसँगै उद्योगी व्यवसायीमा खुसीको सञ्चार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनी करिडोरमा रहेका उद्योगले भोग्नु परेको उर्जा संकट हटाउन र भैरहवा लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले भोगिरहेको विद्युत अनियमितता कमि गर्न बुटवल गोरुसिंगे लुम्बिनी १३२ केभिएको सन्चालनले पक्कै भुमिका खेल्नेछ ।’
व्यवसायीहरुले दुम्किबासमा रहेको समस्या अदालति प्रक्रियाबाट समाधान भएको भएता पनि अब स्थानिय तहमा त्यसको समन्वय गरी छिट्टै काम शुरु गर्नुपर्ने समेत बताए । भरतपुर -बर्दघाट २२० केभि डबल सर्किट विस्तार भईरहदा दुम्किबासमा निर्माण गर्ने दुईवटा टावरको विषयमा स्थानियले अवरोेध सृजना गरि सर्वोच्चमा मुद्धा दायर गरेका थिए । जसको कारण २०७७ देखि उक्त आयोजना रोकिएको थियो र यहि असार १२ गते सर्वोच्चका न्यायधिश इश्वर प्रसाद खतिवडा र प्रकाश कुमार ढुंगानाको संयुक्त ईजालाशले टावर बनाउने बाटो खोलिदिएका हुन् । यो सँगै अब भरतपुर -बर्दघाट २२० केभि आयोजनाले पुणर्ता छिट्टै पाउने छ ।
उक्त आयोजनाले पुणर्ता पाएसँगै हाल चालु अवस्थामा रहेको भरतपुर -बर्दघाट १३२ केभिको सिंगल सर्किटको कारण विद्युतको आपुर्तिको कमि भईरहेको बेला २२० डबल सर्किटको सन्चालनबाट उक्त समस्या पुरा हुने भएको छ । डबल सर्किटको शुरुवातसँगै तामाकोशि र मर्स्यांगदी जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत पनि बर्दघाट पश्चिम तर्फ ल्याउन बाटो खुल्ने विद्युत प्राधिकरणका अधिकारीहरुले बताएका छन् । यतिबेला भरतपुर -बर्दघाट १३२ केभि सिंगल सर्किट र कालिगन्डकीको उत्पादन पश्चिम क्षेत्रमा प्रवाह भईरहेको छ ।
भैरहवा-लुम्विनी औद्योगिक तथा पर्यटकीय महत्वले विशेष क्षेत्रको रुपमा रहदै आएको छ । लुम्बिनी करिडोरमा रहेका सिमेन्ट तथा छड उद्योगहरु, यसैगरी विश्व पर्यटनको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी, अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल ,व्यवसायीक तथा आधुनिक सहर भैरहवा र घनाबस्तीको कारण यो क्षेत्रमा विद्युतिय खपत दिनानुदिन बढिरहेको छ ।