लुम्बिनीखवर
भैरहवा, ७ साउन । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित सिद्धार्थ राजमार्गको ग्रिनरी ल्याण्डमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको छ ।शनिवार एक कार्यक्रम गरी वृक्षारोपण र सरसफाई गरेको हो । सिद्धार्थनगर नगरपालिकाको सीमाक्षेत्र (प्रहरी चेकपोष्ट) देखि कृषि अनुसन्धान केन्द्रको मुख्य द्धारसम्म राजमार्गको पूर्वतर्फको ग्रिनरी ल्याण्डमा नयाँ बिरुवा रोपण गर्नुका साथै गतवर्ष क्लवले रोपेका बिरुवाहरुको संरक्षण तथा गोडमेल गरेको क्लवको सुचना शाखाले जानकारी दिएको छ । क्लबले त्यस क्षेत्रलाई हरियाली बनाउनका लागि प्रत्येक वर्ष निरन्तरता दिने समेत जानकारी दिएको छ । लायन्सको अनिवार्य कार्यक्रमहरु मध्ये वातावरण बचाउ अभियानलाई टेवा पुराउने उद्धेश्यले भैरहवा ग्रीन सिटीले वार्षिक कार्यक्रम अनुसार शनिवार वृक्षारोपण गरेको क्लवका अध्यक्ष श्री रायमाझीले जानकारी दिए । ग्रीन सिटीको वर्ष २०२२/०२३ को नयाँ नेतृत्व आएपछिको यो वृक्षारोपण पहिलो कार्यक्रम हो । यसपछि ग्रीन सिटीले सामाजिक क्षेत्रमा अन्य काम गर्नेछ । अध्यक्ष रायमाझीले भने, “ लायन्सको मर्म र भावना अनुसार हामी अगाडि बढ्दै सामाजिक क्षेत्रमा यस क्लवको माध्यमवाट रचनात्मक काम गर्ने छौँ ।
“ओमसतिया गाउँपालिकाले सिद्धार्थ राजमार्ग सुन्दरीकरणका लागि आर्थिक वर्ष २०७९/ ०८० मा रु. १० लाख रुपैया बजेट विनियोजन गरेको छ । यसका लागि सामाजिक क्षेत्रमा काम गर्ने संघ सस्था र क्लवको आवश्यकता छ । ओमसतिया गाउँपालिकाका अध्यक्ष तथा वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि मञ्जित कुमार यादवले भने, “लायन्ससँगको सहकार्यमा गाउँपालिकाले अन्य सामाजिक कामहरु गर्न इच्छुक रहेको छ ।” गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने सिद्धार्थ राजमार्गको सुन्दरीकरणका साथै हुलाकी सडक,सार्वजनिक स्थलहरुको संरक्षण र सरसफाई गर्ने समेत अध्यक्ष यादवले बताए ।

वृक्षारोपण तथा सरसफाई कार्यक्रममा लायन्स अफिसरहरु राजेश खरेल, महेशचन्द्र थापा, विजय पाण्डे, गोविन्द गिरी लगायतको उपस्थिति रहेको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले जानकारी दिए । क्लबका पब्लिक रिलेशन अफिसर गोकुल पोखरेलको स्वागत तथा क्लबका सचिव विना पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।