logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    एक नगर चार बसपार्क


    २६ साउन २०७९ , बिहिबार

    एक नगर चार बसपार्क

    प्रतिक पौडेल
    भैरहवा । जिल्लाको सदरमुकाम भैरहवाक्षेत्र अव्यवस्थित यातायातका साधनहरुको पार्किङका कारण अस्तव्यस्त बनेको छ । व्यवस्थित नमुना शहरको परिकल्पना गरिएको यो नगरका विभिन्न स्थानमा स्वोघोषित बसपार्कको विकास हुँदा कार्वाही गर्ने निकाय मौन देखिन्छ । सार्वजनिक यातायातका समितिहरु समेत यस विषयमा बोल्न चाहँदैनन् । कानुनी कार्वाही गर्ने ट्राफिक प्रहरी सधै मुकदर्शक भएको देखिन्छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका भित्र पर्ने भैरहवा— परासी हुलाकी सडक, भैरहवा–लुम्बिनी सडकका मुख्य मुहानक्षेत्र क्रमश शान्तिनगर र लुम्बिनी रोड जथाभावी रुपमा सडकमै बसहरु रोकेर बसपार्क जस्तो बनाइएका छन् । नगरको वडा नं ३ मा सिद्धार्थ बस टर्मिनल रहेको छ । ५ बिघा १८ कट्ठा क्षेत्रफलमा रहेको यस बसपार्कमा २ सय भन्दा बढी बसहरु सहजै रुपमा पार्क गर्न सकिने सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । तर बस ब्यवसायीहरुले सिद्धार्थ बस टर्मिनललाई जिरो पोइन्ट मानेर सेवा सञ्चालन गर्नुको सट्टा बेलहियामा लगेर बसहरु सडकमा अव्यवस्थित रुपमा घण्टौंसम्म रोकेर राख्ने गरेका छन् । व्यवसायीहरुले बेलहियामा बसहरु पार्क गरेर राख्दा पर्यटकीय र औद्योगिक मार्ग बेलहिया अव्यवस्थित र कुरुप बनेको छ ।
    बेलहियाका स्थानीय अर्जुन गिरीले सिद्धार्थ बस टर्मिनललाई जिरो पोइन्टको रुपमा मानेर बेलहियामा केवल यात्रु लिन र ओराल्नको लागि मात्र सार्वजनिक सवारीका साधनहरु ल्याउन मिल्ने भएपनि यसो हुन नसकेको बताउँछन् । बेलहियामा टिकट काउन्टर नै राखेर यातायात प्रा.लि.हरुले अड्डानै जमाएका छन् । भारबाट बेलहिया हुँदै नेपाल प्रवेश गर्ने पर्यटक तथा यातायातका साधनहरु ओहोर दोहोर गर्नमा समस्या देखिएको छ ।
    किनमेलका लागि ओहोरदोहोर गर्ने यात्रुहरु र पर्यटकहरुलाई सवारीका साधनमा चढाउनका लागि अस्वस्थ तानातान हुने गरेको छ । बस ब्यवसायी प्रा.लि.को व्यापक रुपमा दादागिरी भएको देखिन्छ । सिद्धार्थ बस टर्मिनललाई जिरो पोइन्ट बनाउने सहमति भएपनि वस व्यवसायी प्रा.लि. मान्दैनन् । नगरका स्थानीय राम बहादुर बस्नेतले सीमाक्षेत्र बेलहिया व्यवस्थित र सुन्दर हुनुपर्ने बताउँछन् ।
    ऐन नियम विपरीत कुनै पनि राजमार्गमा अवरोध पुर्याउन पाइँदैन, सडक संरचना मिचेर बनाइएका भौतिक संरचनाहरु सरकारले भत्काउँदै गर्दा सडकमै रहेको बसपार्कतर्फ भने सम्बन्धित निकायले ध्यान दिएको छैन ।
    बेलहिया मात्र होइन सिद्धार्थनगर नगरपालिकाको बुद्धचोकमा लुम्बिनी, मर्चवार, सुद्धोधन तथा सियारी जाने बसहरुको ताँती उत्तिकै देखिन्छ । भैरहवा बसपार्कलाई जिरो पोइन्ट मानेर पिक एण्ड ड्रपको लागि मात्र प्रयोग हुनुपर्ने ठाउँमा बुद्धचोक अहिले मिनि बसपार्कको रुपमा सञ्चालन हँुदै आएको छ । अहिले दिनहँु यस स्थानमा ६ देखि ७ वटा बस लाइन लगाएर घण्टौँसम्म राखिएका हुन्छन् । यस्तै अवस्था सिद्धार्थनगर नगरपालिका देवकोटा चोक यति होटल अगाडि रहेको छ । भैरहवादेखि परासी जाने बसहरुको ताँती यस क्षेत्रमा लागेको देखिन्छ ।
    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले सडकमा रहेका बसपार्कका लागि व्यवस्थापन गर्ने पहल गरिएको बताउँदै सिद्धार्थ बसपार्क नै जिरो पोइन्ट भएकोले यसलाई ब्यवस्थापन गर्ने कार्यमा नगरपालिका पछि नपर्ने बताउँछन् ।
    सिद्धार्थनगर नगरपालिकामा दैनिक सयौं सवारी साधन सिद्धार्थ राजमार्ग, भैरहवा लुम्बिनी सडक र भैरहवा परासी भएर ओहोरदोहोर गर्छन् । ती सवारीको चाप झेल्न सिद्धार्थनगरमा बसपार्क बनाइएको हो ।
    बेलहिया, बुद्धचोक र देवकोटा चोकमा बसहरु घण्टौं सम्म राख्ने गरेका कारण भैरहवामा बसपार्क भएपनि नभएजस्तो हुने गरेको छ । जसले गर्दा पर्यटकिय नगर सिद्धार्थनगर नगरपालिका हँुदै लुम्बिनी घुम्न आउने अधिकाशं पर्यटकहरु कुनै पनि अन्य जिल्लाको बस चढ्नको लागी बुटवल धाउन बाध्य छन् । बसहरुको जथाभावि पार्किंगप्रति स्वयं यातयात क्षेत्रका अधिकारीहरु तथा यातायात व्यवसायी समेत खुसी देखिदैनन् । उनीहरुले केहि व्यवसायीले जथाभावि पार्किग गर्दा सबै यातयात व्यवसायीलाई औला ठड्याउने काम भएको बताउँछन् ।
    सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष सन्जिव रोक्काले नगरपालिकाले बोल्दा सिद्धार्थ बसपार्कलाई जिरो पोइन्ट हो भन्ने तर ब्यवहारमा भने अर्कै गतिविधी देखाएका कारण नगरमा बस ब्यवस्थापनमा समस्या भएको बताउँछन् । नगरपालिकाले पहलकदमी नलिएसम्म यो समस्या जस्ताको तस्तै रहने यातयात व्यवसायी सुर्य कुमार सारू भनाई रहेको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख केशब केसीले भैरहवाबाट छुट्ने बसहरु चोक चोकका सडकमा यत्रतत्र छरिँदा बसपार्कमा पठाउने कार्यमा ट्राफिक प्रहरी चुकेको स्वीकार्दै स्थानीय सरकारले साथ दिएमा समाधान गर्न सकिने बताउँछन् ।
    सिद्धार्थनगर महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख पर्यटकीय स्थल, नेपालमा पैदलमार्गबाट सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाका र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको नगर हो । यी दुई कोणले हेर्दा पनि नगरपालिकामा बस टर्मिनलको ब्यवस्थित किन हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण विषय रहेको छ । नगरपालिकाले यस विषयमा गम्भिर भएर ध्यान दिन जरुरी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.