प्रतिक पौडेल
भैरहवा, ५ भदौ । असार १ गते भव्यताकासाथ भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापनमा भयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले भव्यताकासाथ कार्यालयको उद्घाटन गरे ।
बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयको एउटा शाखा २० किलोमिटर यता एउटै जिल्लाको अर्को शहरमा ल्याएर संघीय मन्त्रीको उपस्थितिमा उद्घाटन गरियो र भनियो, वैदेशिक रोजगार जानेहरुका लागि सबै किसिमको श्रम स्वीकृति प्रदान गर्ने कार्यालय भैरहवामा स्थापना भएको छ ।
अध्ययन गर्दै जाँदा थाहा भयो, यो त सरासर झुटको खेती पो भएको रहेछ । बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालय नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको एक निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहातको कार्यालय हो । जसले मुख्यत आन्तरिक श्रम हेर्ने निकाय गर्छ । अहिले स्थापना भएको कार्यालयको लागि केन्द्र सरकारले बजेटनै छुट्याएको छैन । बजेटको फाइल अर्थ मन्त्रालयमा गएर रोकिएको भन्ने बुझिएको छ । यस कार्यालयको लागि केन्द्र सरकारले दरबन्दी पनि सिर्जना गरेको छैन । जसका कारण बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयका ५ जना कर्मचारी भैरहवा ल्याएर काम गराइएको छ । अहिले यस कार्यालयका शाखा अधिकृत हप्ताको तीन दिन भैरहवा र तीन दिन बुटवल हाजिर भएर काम गर्ने गरेका छन् ।
यसमा रहेको वैदेशिक रोजगार व्यवस्थापन शाखाले पुन श्रम स्वीकृत बाहेक अन्य श्रम स्वीकृति गर्दैन । अन्य श्रम स्वीकृति जस्तै संस्थागत श्रम स्वीकृति भित्रको पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति तथा वैयक्तिक नयाँ श्रम स्वीकृति गर्न वैदेशिक रोजगार विभाग काठमाडौं नै जानुपर्ने हुन्छ । कार्यालयले अन्तिम स्वीकृति गर्न पाए पनि । भैरहवाको लागी विभागले एकदमै कम कोटा दिइने गरेको छ । जसका कारण काठमाडौं नै जानुपर्ने स्थिति आएको छ ।
नेपाल सरकारको विभागीय मन्त्रीनै संलग्न भएर यसरी अधुरो रुपमा काम गरेको देख्दा भैरहवाका पर्यटन व्यवसायीहरु आक्रोशित हुँदै गएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने भन्छन् “जे काम गर्न पनि मन्त्रीको अगाडि बिन्ती चढाउनुपर्ने, आफै बुझेर काम गर्नु कहाँ छ कहाँ गरेको काम पनि देखावटी मात्र भयो ।”
वैदेशिक रोजगार विभाग नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको अर्को निकाय हो । अहिले भैरहवामा एउटा निकाय अन्तर्गतको कार्यालय ल्याएर काम हुनुपर्नेमा पहिले देखिनै रुपन्देहीमा रहेको अर्को निकाय अन्तर्गतको कार्यालयबाट अधुरो सेवा सञ्चालन गरेर भ्रम सिर्जना गरिएको प्रष्ट रुपमा देख्न सकिन्छ ।
काम सुरु भएको दुई महिना पुग्न लाग्दा पनि पुन: श्रम स्वीकृतिको काम भए पनि संस्थागत श्रम स्वीकृति र वैयक्तिक नयाँ श्रम स्वीकृतिको काम सुरु नहुँदा सेवाग्राहीहरु काठमाडौ जानु पर्ने बाध्यता रहेको छ । नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीले राज्यका प्रणालीहरु काठमाडौं बाहिर आउन चाहँदैनन् भन्ने कुराको ज्वलन्त उदाहरण बैदेशिक रोजगार विभागले भैरहवामा शाखा कार्यालय स्थापना नगर्नु रहेको बताए ।
वैयक्तिक नयाँ श्रम स्वीकृत सम्बन्धमा २०७५ पुस ९ गतेको नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचना अनुसार वैदेशिक रोजगार ऐन २०६४को दफा २१ बमोजिम वैदेशिक रोजगारको लागि व्यक्तिगत रुपमा विदेश जान चाहनेहरुबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भए अनुसार स्वीकृति दिने रहेको छ ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए लगत्तै श्रम स्विकृतिका लागि काठमाडौं जानु पर्ने समस्या अन्त गर्न भन्दै जेठमा भैरहवा आउँदा तत्कालिन विभागीय मन्त्री किशन श्रेष्ठले असार १ गतेबाट श्रम स्विकृति भैरहवाबाटै हुने र कार्यालय खुल्ने घोषणा गरे अनुसार सोहि तिथिमा हतार हातरमा बुटवलमा रहेको कार्यालयको एउटा शाखा ल्याएर उद्घाटन भएको थियो । पर्यटन ब्यवसायी संजिव कुमार जोशीले वैदेशिक रोजगार बिभाग भैरहवा आउन रुची नदेखाउनु केन्द्रको संकुचित सोचका कारण भएको दावी गरे ।
वैयक्तिक नया श्रम स्विकृतीका लागी बैदेशिक रोजगार बिभागले फेमिस सिष्टम बाट काम गर्नुपर्छ तर यो सिष्टम हाम्रो केन्द्रिय कार्यालयको अधिकार क्षेत्र भित्र पर्दैन, अनुमती दिने भने वैदेशिक रोजगार बिभागले हो तर यो अझै सम्म दिएको छैन । बैयक्तिक नयाँ श्रम स्वीकृतको अनलाइन फाराम भर्ने फेमिस सिष्टम भैरहवाका लागि विभागले नखोलिदासम्म यो स्वीकृतीका लागि सेवाग्राही काठमाडौनै जानुपर्ने शाखा अधिकृत केशव भट्टराईले बताए । कार्यालयबाट संस्थागत श्रम स्वीकृति अन्तरगत पूर्व स्वीकृति एक जनाले पनि लिएका छैनन् भने अन्तिम स्वीकृति १२ जनाले लिएका छन् । ६५१ जनाले पुन श्रम स्विकृति यो कार्यालय बाट लिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले चाहेको भए एउटा निर्णयले बैदेशिक रोजगार बिभागले भैरहवामा शाखा खोल्नु ठुलो कुरा थिएन तर मन्त्रीको हतारले अहिले एउटा काम गर्ने निकायलाई अर्को काम गर्नु परिरहेको छ ।
