अस्मिता अधिकारी
भैरहवा, ५ भदौ । “सेवा नै धर्म हो ।” भन्ने आत्मसोचका साथ मर्चवार गाउँपालिकाले जनताको सेवाका लागि एम्बुलेन्स सेवा नि:शुल्क गरेको छ । स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएर आएको गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईको कार्यपालिकाले यो व्यवस्था गरेको मर्चवारी गाउँपालिकाको कार्यालयले जनाएको छ । पालिका अध्यक्ष बरईले आफुले पाउने सवारी साधनको सुविधा त्याग गरेर नि:शुल्क एम्बुलेन्स सञ्चालन गरेको बताएका छन् । जिल्लाको विगत क्षेत्र मर्चवारका जनताले विरामी हुदाँ महंगो शुल्क तिरेर एम्बुलेन्स प्रयोग गरिरहेको अवस्थामा गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेपछि जनताका लागि स्थानीय सरकार अभिभावक बनेको अनुभुति भएको छ । गाउँपालिका भित्रका अशक्त, गर्भवती, बृद्ध, अपाङग तथा बिरामीका लागि रुपन्देहीका सवै अस्पताल सम्म पुग्नका लागि एम्बुलेन्स सेवा नि:शुल्क गरिएको गाउँपालिकाको सुचना शाखाले जनाएको छ । स्थानीय सरकारले दिएको आफ्नो सुविधा त्याग गरेर जनताको ज्यान बचाउन एम्बुलेन्स सेवा नि:शुल्क गरेपछि अध्यक्ष बरईको सवैतिर प्रशंसा भएको छ । जनताको चाहाना र भावना बुझेर जनप्रतिनिधि भएको हो । अध्यक्ष बरईले भने,“ जनताको ज्यान बचाउनका लागि हामीले शुरु गरेको नि:शुल्क एम्बुलेन्स सेवा मर्चवारीबासी चाहाना हो । यसले निरन्तरता पाउने छ ।
मर्चवारक्षेत्रमा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्य बाहेकका विरामी भैरहवा, बुटवलका सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने हुन्छ । बुटवल भैरहवा लैजानका लागि मंहगो पर्ने एम्बुलेन्स शुल्कका कारणले धेरै विरामी स्थानीय स्वास्थ्य केन्द्र मात्र पुग्ने गरेका थिए । केहि बिरामीको समयमा नै उपचार नपाएर मृत्यु समेत हुने गरेको हुदाँ नि:शुल्क एम्बुलेन्स सेवा जनताका लागि सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बरईले लुम्बिनीखवरलाई जानकारी दिए । विगतमा मर्चवारी गाउँपालिकामा मासिक रु. १ लाख २० हजार भाडामा अध्यक्ष तथा प्रमुख प्रशासकियले सवारी साधन प्रयोग गर्ने गरेका थिए । त्यो सुविधा अहिलेका अध्यक्षले त्याग गरि एम्बुलेन्स सेवा सञ्चालनमा खर्च गर्ने गरेको गाउँपालिकाको लेखा शाखाले जनाएको छ । आर्थिक अवस्था कमजोर र गरिबीका कारण अस्पताल पुग्न नसकेका जनताका लागि जनप्रतिनिधी फेरीएसगैँ अस्पताल सम्म पुग्न सहजता र नि:शुल्क एम्बुलेन्स सेवा प्राप्त भएको छ । पालिकाले अहिले २४ सै घण्टा २ वटा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिका भित्र जहाँ जसलाई समस्या पर्छ हामी तुरुन्त पुग्छौ एम्बुलेन्स चालक सुरेन्द्र प्रसाद बरईले भने, “पालिका अध्यक्षको सोच र योजनामा सञ्चालन रहेका यी एम्बुलेन्स मर्चवारीबासीका लागि सेवामा २४ सै घण्टा तयार छन् । ” अहिले समय परीवर्तन भएको छ । नया जनप्रतिनिधि आए सगै मर्चवारीक्षेत्रमा स्वास्थ्य केन्द्रहरु समेत व्यवस्थित हुदै छन् । जसका कारण जनताको ओठमा खुसी र आखाँमा विकासको किरण झल्कीएको मर्चवारीका स्थानीयबासी अफसना खातुनले बताईन । गाउँपालीका भित्र रहेको रायपुर प्रथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाउनुका साथै स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको छ ।
पहिला जनतामा जनचेतनाको कमी र स्वास्थ्य केन्द्र अव्यवस्थीत भएको कारण धेरै महिलाले घरमै शिशुलाइ जन्म दिने गरेका थिए । तर अहिले चेतनाको विकासको साथसाथै स्वास्थ्य केन्द्र व्यवस्थीत भए पश्चात रायपुर प्राथामिक स्वास्थ्य केन्द्रमा माषिक ६० जना शिशुको जन्म भएको राकेश यादव बताउँछन् ।
गरिब दु:खी परिवारका लागि गाउँपालिकाले रायपुर स्वस्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाएको छ । मर्चवारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सशिदयाल चौधरीले भने जनताको स्वास्थ्य उपचारका लागि हामी निरन्तर सेवामा लागिरहेका छौ ।
यो पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसंगै स्थानीयको मुहार परिवर्तन भएको देखिन्छ । हिजो दु:ख र अभावमा पिल्सिएका जनतामा अहिले आशाको किरण पलाएको छ । जनतामा देखिएको खुसीले गर्दा जनप्रतिनिधिमा समेत कामगर्ने उर्जा शक्ती बढेको स्थानीय बासीहरु बताउँछन् । मर्चवारी गाउँपालिकाका अध्यक्षले सरकारी सवारी साधन प्रयोग नगर्ने तथा भ्रष्टचार नगर्ने जनतामाझ प्रतिवद्धता गरेको देखिन्छ । उनले जनतालाई आवश्यक पर्ने सवै प्रकारका सहयोग गर्नका लागि पालिका तयार रहेको बताए ।