पशुपती यादव
रोहिणी, ७ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिले स्थानीय भोजपुरी भाषामा पठन पाठन गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सवै आधारभुत विद्यालयहरुमा अनिवार्यरुपमा भोजपुरी पढाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले जानकारी दिए ।
स्थानीय भाषाको संरक्षण र संबर्धन गर्नका लागि नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै गाउँपालिकाले आधारभुत तहमा १ बिषय भोजपुरी भाषालाई प्राथामिकतामा राखेको हो ।
गाउँपालिकाका शिक्षा समितिका संयोजक मधु प्रसाद घिमिरेले भने, रोहिणी आगामी शैक्षिक सत्र देखि स्थानीय भाषा पढाउने तयारी गरेको छ । जसका लागि स्थानीय पाठ्क्रम निर्माण समिति समेत गठन गरेको छ ।
यसको संयोजकमा पालिकाका शिक्षा समिति संयोजक मधु प्रसाद घिमिरे, सदस्यहरु तारानाथ त्रिपाठी, गनपत गुप्ता रहेका छन । देशमा रहेका विभिन्न जाती, भाषा, भाषिका धर्म, संस्कृती, स्थानीय, कला, सांस्कृतिक तथा मानिसहरुको चाहाना अनुसार संरक्षण गर्ने अधिकार पनि स्थानीय सरकारमा रहेकाले भोजपुरी भाषाको संरक्षणमा आफुहरु लागेको गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले बताउँछन् ।
सामाजिक बिकास संयोजक तथा वडा नम्बर १ का बडा अध्यक्ष आविद अलि स्थानीय भाषालाई जनताको चाहाना र माग अनुसार प्रध्यापन गराउन लागिएको बताएका छन् ।
सहिदको रगतबाट प्राप्त भएको गणत्रात्मक व्यवस्थामा भाषाभाषी धर्मसंस्कृतिलाई संरक्षण गर्न रोहिणी गाउँपालिकाले शुरु गरेको छ ।
जुन सरकारको मापदण्ड र जनताको चाहाना अनुरुप हुनुपर्दछ । सस्तो लोकप्रियताका लागि शिक्षा क्षेत्रलाई प्रचारमुखी बनाउन नहुने स्थानीय बुद्धिजिविहरु बताउँछन् । भोजपुरी भाषा पढाउने गाउँपालिकाको योजना राम्रो छ । शिक्षाविद मुहम्मद इद्रिस खाँ भन्छन् , पाठ्क्रम निर्माण र पठाउने शिक्षकहरु पनि योग्य हुनुपर्दछ । नत्र विद्यार्थीहरु अन्योलमा पर्न सक्दछन् । भोजपुरी जनताको मन मस्तिष्कमा छ । यसलाई सहिरुपमा स्कुल तहमा पढाउन सके रोहिणीको चाहाना पुरा हुनेछ ।