असलम खाँन
मर्चवार, माघ । रूपन्देही जिल्लाको दक्षिण क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिचाई समस्या समाधानका लागि कृषि मिटर जडान गर्ने निर्णय गरेको छ ।
एउटा मात्र मुख्य मिटर जडान गरी सिंचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पुर्ण बिद्युत्त महसुल गाउँपालिकाले तिर्ने प्रतिबद्धता सहित बिद्युत्तीय पुर्वाधार निमार्ण गर्न नेपाल बिद्युत्त प्राविधिकरण भैरहवा वितरण केन्द्रसंग गाउँपालिकाले माग गरेको छ ।
अधिकांश कृषि योग्य भूमिमा रहेकोले यहाँ बसोवास गर्ने व्यक्तिहरु कृषिमा निहित छन् । कृषि गर्न योग्य जमिन भएको हुदाँ विभिन्न किसिमका समयानुसारका वालीहरु लगाइन्छ । तर सिचाइको सुविधा नभएको हुदाँ बाली नष्ट भएर जाने समस्या लाई मध्यनजर गरेर कोटहीमाई गाउँपालिकाले सबै सम्पूर्ण वडामा १ सय के.भि.ए. को ट्रान्सफर्मर तथा विद्युत्तीय लाइन विस्तार गर्न आग्रह गर्दै सिंचाइ प्रयोजनमा खपत हुने महशूल गाउँपालिकाले तिर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । प्रचुर सम्भावना रहेको कृषि क्षेत्रमा बृद्धि, विस्तार र युगीन क्रान्ति ल्याउन तथा किसानलाई सिंचाइमा सहजीकरणका लागि लाग्ने सम्पूर्ण विद्युत्तीय महशूल गाउँपालिकाले नै तिर्ने निर्णय गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।
जिल्लाका विभिन्न स्थानीय तहले स्थानीयवासीलाई विभिन्न किसिमको सुविधा उपलब्ध गराउँदै आएको भए पनि कृषि क्षेत्रको बृद्धि र विकासका लागि सिंचाई कार्यमा प्रयोग हुने सम्पूर्ण विद्युत्तीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय लुम्बिनी प्रदेश मै पहिलो पालिका हो । गाउँपालिका अध्यक्ष त्रिपाठीले भने, “सिंचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुल गाउँपालिकाले तिर्ने निर्णय भए पनि विद्युतको दुरुपयोग हुने सम्भावना रहेकोले त्यसलाई रोक्न गाउँपालिकाले प्रभावकारी संयन्त्रको व्यवस्था समेत गर्नेछ ।”
माघ ११ गते बसेको कोटहीमाई गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा स्वीकृत भएका योजना मध्ये डिप टयुवेल, बोरिंग तथा ह्याण्ड पम्प जडान कार्यमा संलग्न बमोजिम तथा एम्बुलेन्स सेवा संचालन कार्यविधी २०७९ समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।