ज्ञानेश्वर सहानी
नवलपरासी, ३१ जेठ । पश्चिम नवलपरासीको नारायणी नदीमा नदीजन्य पदार्थ चोरी निकासी बढेको छ । नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने नारायणी नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढेको हो । नारायणी नदीमा खुलेयाम नदीजन्य पदार्थ चोरी निकासी हुँदा समेत प्रहरीको मिलोमतो देखिएको स्थानीयवासीले बताएका छन् । खुलमखुला नदीजन्य पदार्थ चोरी निकासी हुँदा समेत गाउँपालिकाले पनि कुनै पनि चासो नलिएको स्थानीयवासीले बताए ।
गाउँपालिकाले नियम अनुसार रोल्यटी काटेर नदीजन्य पदार्थ निकासी गर्नुपर्नेमा त्यसो नगरिएको पाइएको छ । नारायणी नदीमा खुलमखुला मेसिनरी उपकरण अर्थात जेसिबी प्रयोग गरी दिनभरी गिट्टी, बालुवा, ढुङ्गा र मिस्कट हजारौं ट्रली चोरी निकासी भैरहेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासीहरुले आफ्नो घरायसी कार्यमा प्रयोग गर्नका लागि नारायणी नदीबाट नदीजन्य पदार्थ निकासी गर्दा प्रहरीले पक्राउ गरी पालिकामा गाडी बुझाउने तर यति खेर दिन रात गरी त्यही नारायणी नदीबाट अवैध रूपमा गिट्टी बालुवा, ढुङ्गा र मिस्कट निकासी भइरहँदा प्रहरी प्रशासन मौन रहनु भनेको नदि दोहनकर्ताहरुले जिल्लाका निकाय सम्म सेटिङ्ग गरेर नदीजन्य उत्खन्न गरेको स्थानीयवासीहरुको आरोप छ । चोरी निकासी व्यापक रुपमा भैरहेको स्वीकार गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेकनाराणय उपाध्यायले दैनिकी चोरी निकासी भएको प्रहरीले देखिरहेको बताए । उनले–‘प्रहरीले चोरी निकासी रोक्न कुनै पनि कदम चालेको नदेखेपछि मैले चोरी निकासी रोक्न सहयोग गरिदिनको लागि प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय र मन्त्रालयलाई पत्रचार गर्दा समेत केही गरेको छैन ।’
अहिले गण्डक मर्मत कार्यको बहाना बनाउँदै अन्यत्र ठाउँमा पनि चोरी निकासी नदीबाट गिट्टी, बालुवा र मिस्कट धमाधम चोरी निकासी भइरहेको खबर आएपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले तुरुन्त प्रहरी पठाई चोरी निकासी काम रोकिएको दाबी गरे ।