विद्युतीय पोलमा करेन्ट लागेर वृहत लुम्बिनी क्षेत्रमा ३५ वटा सारस क्रेनको मृत्यु भएको छ ।
लुम्बिनीखबर
भैरहवा, ३१ जेठ । वृहत लुम्बिनी क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर संवेदनशील सारस क्रेनको मृत्यु भइरहेको तथ्य बाहिर आएको छ । वृहत्तर लुम्बिनी अन्तर्गत रुपन्देही, नवलपरासी र कपिलवस्तुका सीमसार क्षेत्रलाई केन्द्र विन्दुमा राखेर गरिएको सर्वेक्षणले करेन्ट लागेर ३६ वटा सारस क्रेनको मृत्यु भएको देखाएको छ ।
नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरीएको एक सर्वेक्षणले विश्वमै दुर्लभ श्रेणीमा रहेको सारस क्रेन विद्युतीय पोलका कारण जोखिममा परेको देखाएको हो ।
सारसलाई नेपालका ९ वटा संरक्षित पंक्षीहरुको सूचीमा पनि राखिएको छ । डब्लु डब्लु एफ नेपाल र इन्टरनेशनल क्रेन फाउन्डेसनको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र परासीमा अध्ययन सर्वेक्षण गरिएको पन्छी अनुसन्धानकर्ता डा.हेम बहादुर कटुवालले जानकारी दिए । २८ जनाको १४ वटा टोलीले गरेको सर्वेक्षणका क्रममा कपिलवस्तुमा २ सय, रूपन्देहीमा ३८२ र परासीमा ७० वटा सारस भेटिएको उनले बताए । गत अप्रिल र मे महिनाको बिचमा बृहत लुम्बिनी क्षेत्रमा ९३ वटा, ५–५ किलोमिटर ग्रिडहरुमा टोलीले वृहत व्यवस्थित सर्वेक्षण गरेको थियो । विशेष गरी कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गँैडहवा ताल , खडैया इटा भट्टा, दुईमुहान, माझगाउँ, औरधौली पूर्व, भभई दुर्गा मन्दिर, आजमाघाट तथा परासीको नन्दन तालमा गणना गरिएको थियो । साइटिसले अनुसूची २ र आईयुसीएनको रातो किताबमा संवेदनशील सूचीमा राखिएको सारस सिमसार क्षेत्रमा बसोवास गर्छ । सारसको जम्माजम्मी संख्या पत्ता लगाउने र यसको भौगोलिक वितरण र वासस्थानको संरक्षणका चुनौती पत्ता लगाउने तथा सारस र मानवबीचको सम्बन्ध र सारस संरक्षणका सम्बन्धमा स्थानीय बासिन्दाको धारणा बुझ्ने प्रयास अध्ययन टोलीले गरेको उनले बताए ।
सोसाइटीका महासचिव हरिप्रसाद शर्माले अध्ययनबाट आएका निष्कर्षलाई दृष्टिगत गर्दै सारस संरक्षण र सारसबाट पर्यावरण र पर्यटनलाई प्रवद्र्धन गर्न नीतिगत तहमा छलफल गर्ने बाटो खुलेको बताए ।
अध्ययनमा संलग्न प्राणीशास्त्री डा.हेमबहादुर कटुवालका अनुसार सर्वेक्षणले विद्युतीय पाोलमा करेन्ट सारस क्रेनको मृत्यु भइरहेको नयाँ तथ्य बाहिर ल्याएको बताएका छन् । ‘शहरीकरणले कसरी सारसको संख्या घटाइरहेको छ भन्ने देखाउँछ । सहरीकरणको नकारात्मक प्रभावलाई रोक्ने उपायबारे सोच्न आवश्यक भइसकेको छ ।’– उनी भन्छन् । सर्वेक्षणका क्रमममा विश्वमै दुर्लभ श्रेणीमा रहेको ६५२ वटा सारस वृहत्त लुम्बिनी क्षेत्रमा फेला परेका छन् ।
अध्ययनका क्रममा कृषि परिदृश्य सँगै सिमसार जग्गाको अभाव र निर्माण प्रयोजनका लागि सिमसार जग्गा सुकाउनुलाई महत्वपूर्ण खतराका रुपमा पहिचान गरिएको प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.कुमार सापकोटाले बताए । उनका अनुसार यही अध्ययन सर्वेक्षणका विषयलाई लिएर यसै साता मात्र कार्यशाला गोष्ठी पनि सम्पन्न गरिएको छ ।
सारसको अवस्थाका बारेमा गरिएको सो अध्ययन र सर्वेक्षणको नतिजाले केन्द्र, प्रान्तीय र स्थानीय सरकारी अधिकारी लगायत अन्तरदेशीय क्षेत्रलाई प्रजाति व्यवस्थापन र संरक्षण रणनीतिहरु सूचित गर्न महत्वपूर्ण आधारभूत तथ्याङ्क प्रदान गर्ने विश्वास जुलोजिकल सोसाइटीले गरेको छ । नेपाल लगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने ठूलो चराका रुपमा रहेको छ । यो प्रजातिको सारस ६ फिटसम्म अग्लो हुन्छ । यो उड्ने चरा मध्ये सबै भन्दा अग्लो चरा हो ।