मर्चवार, मङ्सिर १० । इलाका प्रशासन कार्यालय मझगावाँमा कार्यालय प्रमुख नहुँदा विभिन्न सेवाहरु ठप्प भएका छन् । शाखा अधिकृत शोभा पाण्डेयको सरुवा भई गएको दुई महिनासम्म नयाँ कार्यालय प्रमुख नआएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् ।२०८१ असोज १० मा पाण्डेय कम्पनी रजिष्ट्रारको कार्यालय बुटवलमा सरुवा भएपछि मझगावाँ कार्यालय प्रमुखविहीन भएको हो । प्रमुख नहुँदा कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाका नागरिकहरु नागरिकतासहित अन्य सेवाका लागि जिल्लाको भैरहवा धाउन बाध्य छन् ।
कार्यालयमा १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटर, राष्ट्रिय परिचयपत्र बनाउने २ कर्मचारी र २ कार्यालय सहयोगी कार्यरत छन् । एक कर्मचारीका अनुसार उनीहरु बिहान हाजिर गरेर दिन बिताइरहेका छन् । “कुनै पत्राचारको विवरण मात्र पठाउने र राष्ट्रिय परिचयपत्रको सेवा बाहेक अन्य कुनै काम भइरहेको छैन,” उनले बताए । छोराको नागरिकता बनाउन आएका कोटहीमाईका पर्शुराम यादवले प्रमुख नभएका कारण काम नहुँदा घर फर्किनुपरेको गुनासो गरे । “भारतबाट घर फर्केको छोराको नागरिकता बनाउन भैरहवा जानुपर्छ भन्ने सुन्दा मन खल्लो भयो,” उनले भने ।
मर्चवारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामसेवक खरबिन्दले मर्चवारबासीहरु विभिन्न सेवा लिन भैरहवा जानुपर्ने बाध्यता भएको बताए । “नागरिकता बनाउन, मधेशी प्रमाणित गर्न र अभिलेख सुधार गर्न भैरहवा पुग्नुपरेको छ, जसले समय र खर्च दुबै बढी लागेको छ,” उनले भने ।
मझगावाँ कार्यालयका कम्प्युटर अपरेटर विजय कुमार यादव भैरहवामा काम गरिरहेका छन् । “मेरो सरुवा भएको छैन, तर भैरहवामा सेवाग्राहीको चाप बढेकाले म सहयोग गर्न पुगेको हुँ । प्रमुख आएपछि पुनः मझगावाँ फर्किनेछु,” उनले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कार्यालय प्रमुख नियुक्तिका लागि गृह मन्त्रालयलाई ताकेता गरिएको बताए । “छिट्टै कार्यालय प्रमुख खटाउने प्रक्रिया अघि बढेको छ । अत्यावश्यक काम भए भैरहवा गएर सेवा लिन अनुरोध गर्दछु,” उनले भने ।
मर्चवार क्षेत्रका नागरिकले छिटो कार्यालय प्रमुखको व्यवस्थापन गरी सेवा सुचारु गर्न माग गरेका छन् । स्थानीय वडाहरुले आवश्यक बजेट प्रदान गर्न तयार रहेको जनाउँदै समस्या समाधान गर्न सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन् ।