लुम्बिनीखबर
सिद्धार्थनगर, पुस । बैंक ब्याज बृद्धि भएको भन्दै रुपन्देहीका १८ वटा व्यवसायिक संघसंस्थाले नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखामा एक घण्टा धर्ना दिएका छन् ।मंगलबार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको अगुवाईमा १८ वटा व्यवसायिक संघसंस्थाले राष्ट्र बैंक अगाडि धर्ना दिएका हुन् । शान्तिपुर्ण रुपमा राष्ट्र बैंक अगाडी पुगी उद्योगी–व्यवसायीहरुले धर्ना दिएको सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव बिजय पाण्डेले जानकारी दिनुभयो ।
उद्योग व्यवसायमैत्री नीति कायम गर, ब्याजदर एकल बिन्दुमा कायम गर, साँवा र ब्याजदर भुक्तानी अवधि बढाऊ, चालू कर्जा निर्देशिका–२०७९ खारेज गर जस्ता नारा लेखेका प्लेकार्ड बोकेर उद्योगी–व्यवसायी राष्ट्र बैंक अगाडि धर्ना दिन पुगेको महासचिव पाण्डे बताउनुभयो ।
‘मुलुकभर पाँच लाख उद्योगी–व्यवसायी छन्, यसमध्ये ४ लाख पचास हजार अहिले बैंक ब्याज बृद्धिको मारमा परेको नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो । ब्यवसायीहरुले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको तर ब्याज बृद्धि नघटे कडा आन्दोलनको चेतावनी दिएका छन् । ८ प्रतिशतमा लिएको ब्याज बढाएर बैंकहरुले १६ प्रतिशत पुर्याएको व्यवसायीहरुको गुनासो रहेको छ । बैंकहरुले आफू खुशी ब्याज बढाएको समेत उनिहरुको आरोप रहेको छ ।