झब्बर यादव
सिद्धार्थनगर, पुष । भैरहवाका बजार क्षेत्रमा अहिले नेपाली भन्दा भारतीय अनहारहरु देखिने गरेका छन् । यिनीहरु नेपालमा आउनुको मुख्य कारण घुम्न र मनोरञ्जन गर्नु हो । नेपालमा आर्थिक मन्दीले बजार मन्द देखिएको बेला भारतीय पर्यटकहरुको आगमन महत्वपूर्ण भएको सरोकारवाला बताउँछन् । नेपालमा सबै भन्दा धेरै पर्यटक पैदल मार्गवाट आउँने बेलहिया नाका पनि यही क्षेत्रमा पर्ने भएकाले लुम्बिनी, पोखरा, काठमाडौं र चितवनको सौरहा जाने पर्यटकहरु पनि यही मार्ग हुदै आउने भएकोले भैरहवा क्षेत्र अहिले पर्यटकहरुको अलि अलि चहल पहल रहेको छ । यहाँ संचालित स्पा तथा मसाज सेन्टर र क्यासिनोहरुले उनीहरुलाई आकर्षण गर्नका कारणले भैरहवामा भारत लगायत तेस्रो मुलुकका पर्यटकहरु एक दुई दिन बस्ने गरेका छन् । एक दुई दिन विदेशी पर्यटकहरु भैरहवामा घुम फिर गर्दा यहाँका होटल, रेष्टुरेन्ट, किराना पसलहरु,
क्यासिनो , स्पा तथा यहाँ चलेका यातायातका सवारी साधनहरुले आर्थिक उपार्जन गर्न सकेको सिद्धार्थ होटल एशोसेसनका उपाध्यक्ष किशोर जोसीले जानकारी दिनुभयो । उहाँले भारतीय पर्यटक यस क्षेत्रमा केही दिन रोक्नका लागि स्पा र क्यासिनो मात्र भएकालेअब थपपर्यटकीय स्थलहरुको विकास गर्नु पर्ने सुझाव दिए । जोसी भैरहवा क्षेत्र पर्यटकहरुको संगम स्थल भएकोले पनि यहाँ आउने पर्यटकहरुलाई सबै क्षेत्रबाट सम्मान र माया हुनुपर्ने बताए । नेपालमा सीमा क्षेत्र देखि राजधानी सम्म पुग्दा विभिन्न निकायबाट पर्यटकलाई दु:ख दिने चलन रहेकोले यसको अन्त्य हुनपर्ने जोसीको माग रहेको छ । भैरहवा पछिल्लो समय आर्थिक मन्दीले ढुपक्क छोपेको छ । मन्दीका कारण ठूला देखि साना ब्यवसायीहरु संकटमा परेका छन् । उनीहरुको समस्या समाधान गर्ने कुनै निकायले पहल गरेको देखिदैन् । आथिक मन्दीका कारण उद्योग व्यवसाय प्रतिष्ठानहरुले रोजगारवाट मानिसहरुलाई निस्काशन गरिरहेका छन् । जसका कारण धेरै मानिसहरु बेरोजगार भई रहेका छन् । पर्यटकहरुको केही आगमनले चलेका केही स्पा तथा मसाज सेन्टर र क्यासिनोहरुलाई समेत बेलाबेलामा विभिन्न निकायहरुवाट धम्की दिने र त्रासमा राख्ने काम गरेको व्यवसायीहरुको गुनासो रहेको छ । यसको अन्त्य हुनुपर्ने माग बजारमा देखिन्छ ।समाजमा देखिएको आर्थिक मन्दी न्यूनीकरणका लागि पर्यटन क्षेत्रको विकास र पर्यटन नेपालमा भित्रयाउनु सरकारले पहल गर्नु पर्ने होटल तथा ट्राभल व्यवसायी श्रीचन गुप्ताले बताए । उनले पर्यटन क्षेत्र संग सम्बन्धित सवारी साधन, होटल, रेष्टुरेन्ट , पर्यटकीय स्थलहरु, स्पा तथा मसाज सेन्टर र क्यासिनोहरुले पर्यटकहरुलाई सेवा सुविधा दिएर आकर्षण गर्नु पर्ने बताउँछन् । रुपन्देहीको सीमाक्षेत्र भैरहवामा पछिल्लो चरणमा पर्यटन क्षेत्रमा लगानी गर्नेहरुको संख्या ह्वत्तै बढेको छ । होटल रेष्टुरेन्ट देखि क्यासिनोमा भित्रिएका लगानी अहिले स्पा तथा मसाज सेन्टरमा पुगेको स्थानीय बुद्धिजीविहरु बताउँछन् । उनीहरुले पर्यटकका लागि संचालन भएका यस्ता व्यवसायहरुको संरक्षण गर्नु पर्ने सुझाव स्थानीय सरकारलाई दिएका छन् ।