भैरहवा, फागुन २० । रुपन्देहीको मायादेवी गाउँपालिकामा यही फागुन २४ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिँदैछ। मायादेवी गाउँपालिका कार्यालयको भवनमा सञ्चालन हुने सो शिविरमा स्थानीय बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ।
श्री संजय साई सेवा समूह भैरहवाको आयोजनामा सञ्चालन हुन लागेको यस वृहत् स्वास्थ्य शिविरमा भैरहवा तथा बुटवलका ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछन्। आयोजकका अध्यक्ष राजेन्द्र थापाका अनुसार शिविरमा ८०० देखि १,००० जनासम्म स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य जाँच तथा परामर्श दिइनेछ।
शिविरमा छाला रोगसम्बन्धी उपचार प्रदान गरिनेछ भने नाक, कान र घाँटीसम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष परामर्श उपलब्ध हुनेछ। महिला तथा प्रसूति रोगसम्बन्धी सेवाहरू समेत प्रदान गरिनेछ। हाडजोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीहरूले पनि विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिन सक्नेछन्। बालबालिका रोग विशेषज्ञहरूको टोलीले साना बालबालिकाका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। जनरल फिजिसियन सेवाको साथै शल्य चिकित्सक (सर्जन) हरूद्वारा आवश्यक सल्लाह तथा परामर्श दिइनेछ। साथै, पेट, छाती तथा ग्यास्ट्रिकसम्बन्धी रोगहरूको जाँच र उपचारको सुविधा पनि रहनेछ। यीबाहेक अन्य विविध स्वास्थ्य सेवाहरू समेत शिविरमा उपलब्ध हुनेछन्।
शिविरमा आवश्यक औषधीहरू सिद्धार्थ फर्मासिटिकल्स, मधवलिया तथा एसियन फर्मासिटिकल्स, रुपन्देहीले उपलब्ध गराउने छन्। शिविरको मुख्य सहआयोजक मायादेवी गाउँपालिका रहेको छ भने प्राविधिक सहयोग लुम्बिनी मेडिकेयर एण्ड एसिस्टेन्ट सेन्टर प्रा.लि., गल्लामण्डीले प्रदान गर्नेछ।
शिविर बिहान ९ः३० बजे सुरु हुने कार्यक्रम दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ। मायादेवी गाउँपालिका कार्यालय भवन, मायादेवी–३, बरेवा, रुपन्देहीमा हुने यस शिविरमा सहभागी भई स्वास्थ्य सेवाको लाभ उठाउन आयोजक संस्थाले सम्पूर्ण स्थानीय बासिन्दाहरूलाई अनुरोध गरेको छ।