logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    भैरहवाको विकासमा वामपन्थी सरकार आवश्यक ः बराल


    १८ मंसिर २०७४ , सोमबार

    भैरहवाको विकासमा वामपन्थी सरकार आवश्यक ः बराल

     

    नेपाली राजनीतिक आन्दोलनका योद्धाको रुपमा परिचित विश्वास बराल (अनुप) अहिले वाम गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं ३ (क) का प्रदेश सभा सदस्य उम्मेदवार हुन् ।

    विश्वास बराल (अनुप) प्रदेश सभा सदस्य उम्मेदवार रुपन्देही क्षेत्र नं ३ (क)

      विभिन्न राजनीतिक परिवर्तनको नेतृत्व सम्हालेका यी युवाको जन्म वि.सं २०३४ सालमा कास्की जिल्लाको मादी गाउँपालिकामा भएको हो । सामान्य गरीब किसान परिवारका बुवा रोमनाथ र आमा नारायणीका कान्छा सुपुत्रको रुपमा बराल जन्मिएका हुन् । कास्कीमा जन्मेपनि उच्च शिक्षाको क्रममा देशको विभिन्न क्षेत्रमा पुगेका उनी १२ वर्षको कलिलो उमेरदेखि नै अनेरास्ववियुमा संगठित हुँदै विद्यार्थी आन्दोलनमा सरिक भएका थिए । २०५१ साल पछिको राजनीतिक परिवर्तनसँगै तत्कालिन माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा संगठित भई माओवादी पार्टी निकटको आन्दोलनमा आबद्ध भएका थिए । २०५५ सालबाट विद्यार्थी फाँटबाट उनी पूर्णकालीन रुपमा माओवादी पार्टीको कार्यकर्ताको रुपमा सरिक भई भूमिगत राजनीतिक परिवर्तनका निम्ति होमिएका थिए । अनेरास्ववियु क्रान्तिकारीको चितवन जिल्ला अध्यक्ष हुँदै तत्कालीन जनमुक्ति सेना चितवनको जिल्ला कमाण्डरको समेत कार्यभार सम्हालेका बराल २०५९ सालदेखि निरन्तर रुपमा रुपन्देहीको राजनीतिमा क्रियाशील रहेका छन् । दोस्रो जनआन्दोलन २०६२÷६३ मा बुटवलको आन्दोलनको नेतृत्व गरेका बराल राजनीति भित्र इमान्दार नेताको रुपमा परिचित छन् ।
    राम्रो संगठनात्मक कला भएका बरालले संकटकालीन अवस्थामा समेत माओवादी पार्टीको जिल्ला नेतृत्व कुशलतापूर्वक सम्हालेका थिए । हाल नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका बराल अहिले रुपन्देहीको क्षेत्र नं ३ (क) अन्र्तगतको तिलोत्तमा १४ का बासिन्दा हुन् । उनीसँगै उनकी जीवनसंगीनी गंगा कार्की समेत माओवादी जनयुद्धकालकी समकालीन सहयात्री हुन् । निकै सरल स्वभावका बराल पार्टी र जनतासँग सहज रुपमा घुलमिल गर्न सक्ने नेताको रुपमा समेत परिचित छन् । जनताको वर्गीय मुक्तिसँगै उत्पीडित, शोषित पीडित समुदायलाई राजनीतिक रुपमा सचेत बनाएर मात्र स्थायित्व दिन सकिनेमा विश्वास गर्दछन् । आर्थिक, राजनीतिक र सामाजिक रुपमा स्वच्छ छवि भएका बराल वैचारिक रुपमा स्पष्ट व्यवहारिक रुपमा इमान्दार व्यक्ति हुन् । यीनै बरालसँग लुम्बिनीखबरको संवादमा  सह–सम्पादक कमल रायमाझीले गरेको कुराकानी ः

    यहाँको उम्मेदवारी किन ?
    –मेरो उम्मेदवारी राज्यको मुख्य निकायमा पुगेर शोषित, पीडित र राजनीतिक रुपमा पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्नका लागि परेको हो । जनताका पक्षमा रहेका हाम्रा राजनीतिक एजेण्डाहरु पारित गराउन, राष्ट्रियता, जनजीविकाका पक्षमा उठाएका विषयहरु पुरा गराउन, समाज परिवर्तन र विकासका निम्ति समेत मेरो उम्मेदवारी रुपन्देही क्षेत्र नं ३ (क) बाट परेको हो ।
    यस जिल्लामा जातिय र धार्मिक सद्भाव कायम राख्न, सामाजिक न्यायलाई संस्थागत गर्नका लागि समेत मैले नेतृत्व गर्न खोजेको हो । यसको अलावा मेरो क्षेत्रभित्र रहेका पर्यटन क्षेत्र, कृषिको आधुनिकीकरण, औद्योगिकीकरण, विशेष आर्थिक क्षेत्रको संचालन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य छिटो सम्पन्न गर्न, व्यापार मण्डपको व्यवस्थापन गर्न, भन्सारमा हुने ढिलासुस्तीको अन्त्य गर्न र जनताका दैनिक जीवनसँग रहेका प्रत्येक समस्याहरुको समाधानका निम्ति यस क्षेत्रबाट मेरो उम्मेदवारी रहेको हो ।

    यहाँका चुनाव जित्ने एजेण्डा के के छन् ?
    –अहिले नेपाल विश्वको गरीब मुलुकहरु मध्ये एक हो । यो हुनुमा नेपालमा लोकतान्त्रिक पद्धति मान्छु भन्ने विभिन्न पार्टीहरु जिम्मेवार छन् । देशको विकास तीव्र गतिमा गर्नका निम्ति देखिएको वामपन्थी जनमत मुख्य एजेण्डा हो । यस सँगसँगै राष्ट्रियता प्रतिको हाम्रो अडान, जनताप्रतिको हाम्रो इमान्दार प्रतिबद्धता, देश विकासको लागि हामीले गरेको राजनीतिक आन्दोलनको नेतृत्व, आर्थिक समृद्धि नै हाम्रा एजेण्डाहरु हुन् ।

    यहाँले चुुनावी अभियान कसरी अगाडि बढाउनुभएको छ ?
    –अहिले हामी जनतासँगको भेटघाटमै व्यस्त छौँ । यसको अलावा घरदैलो, कोणसभा, मतदाता शिक्षा, पर्चा वितरण, पम्प्लेटिङ र हाम्रा घोषणापत्रहरु जनतासँग पु¥याएर अभियान अगाडि बढाइएको छ । मिडियामैत्रीको रुपमा विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जाल मार्फत समेत हाम्रो चुनावी अभियानले गति लिएको छ ।


    यहाँको मुख्य प्रतिस्पर्धी कसलाई देख्नुहुन्छ ?
    –राजनीतिक हिसाबले हेर्ने हो भने मेरो मुख्य प्रतिस्पर्धी देवी चौधरीजी हुनुहुन्छ । तर उहाँले विगतमा देखाएको जातियवाद र क्षेत्रीयवादका कारण मतदाताहरु म प्रति आकर्षित रहेका छन् । अन्य राजनीतिक दलका उम्मेदवारहरु पनि प्रतिस्पर्धामा त हुनुहुन्छ तर उहाँहरु पनि निर्वाचनको अभियानमा हराएको हामीले देखेका छौँ । देशको विकास गर्ने, जनताको समस्यासँग प्रत्यक्ष जुध्न सक्ने नेतृत्व वाम गठबन्धन भएका कारणले पनि मेरा प्रतिस्पर्धीहरु देखिँदैनन् ।

    यहाँले जित्ने आधार के छ ?
    –हाम्रो मुख्य जित्ने आधार भनेकै अपार जनसमर्थन हो । जुन देशभरी नै वाम गठबन्धन प्रति उर्लिएको छ । यो उत्साह र उल्लासपूर्ण वातावरणमा मैले जित्ने पक्का जस्तै देखिन्छ । अर्को पक्ष भनेको हामीसँगको विकासका दृष्टिकोण हुन् । हाम्रा राजनीतिक एजेण्डा हुन् । राज्य परिवर्तन र जनताका अपेक्षाहरु पुरा गर्नका लागि हामीले गरेको ठूलो बलिदानी र संघर्ष हो । जसका कारण अबको १० वर्षमा नेपाल धनी मुलुकको सूचीमा पु¥याउने र मेरो निर्वाचन क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारको पूर्ण ग्यारेण्टी गर्नु हो ।

    घरदैलो गर्दा जनताबाट कस्तो अपेक्षा पाउनुभएको छ ?
    –मुख्यतया जनताहरु स्थानीय स्तरमा भएका समस्याहरु जनप्रतिनिधि भएपछि पुरा गर्नुपर्ने विश्वास गर्दछन् । मलाई पनि जनताहरुले स्थानीय स्तरमा रहेका बाटोघाटो, स्वास्थ्य, शिक्षा, खानेपानी, डुबान समस्या समाधान जस्ता कुराहरुको अपेक्षा राखेका छन् । एक इमान्दार राजनीतिक नेतृत्व भएको हिसाबले उनीहरुले मसँग जीवन्त सम्बन्ध स्थापित गर्न खोज्नुका साथै आफ्ना प्रत्येक दुःखसुखमा मेरो सहयोगको अपेक्षा लिएका छन् । जुन म विजय पश्चात पुरा गराउने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

    सामाजिक सुरक्षा आर्थिक नीति जस्तै शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मुद्दाहरुलाई यहाँले कसरी अगाडि बढाउनुभएको छ ?
    –अब नेपालमा करीब करीब राजनीतिक आन्दोलन पुरा भएको छ । अब हामीले गर्ने भनेकै आर्थिक समृद्धि, सामाजिक क्षेत्रको विकास, आर्थिक रुपमा निजी सम्पत्तिको प्रमोट गर्नु, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नु, सामाजिक क्षेत्रमा गास, बास, कपासको ग्यारेण्टी गर्नु, पर्यटन विकास, औद्योगिकीकरण, प्राविधिक तथा व्यवसायिक र रोजगारमूलक शिक्षाको विकासलाई हामीले अगाडि बढाएका छौँ । निजी विद्यालय तथा कलेजलाई नियमन गर्दै सरकारी शिक्षालाई व्यवस्थित र गुणस्तरीय रुपमा अगाडि बढाउने समेत हामीले अभियान लिएका छौँ ।

    यहाँहरुले जिते नेपालमा तानाशाह र साम्यवाद लागू हुने विपक्षीहरुको आरोप छ नि ?
    –नेपालको संविधान अनुसार नै हामीले आफ्ना नीति नियम र पार्टीका घोषणापत्रहरु आम सर्वसाधारण समक्ष प्रस्तुत गरेका छौँ । हामीले जिते देश समाजवाद तिर उन्मुख हुँदै नेपाल र नेपालीलाई विकसित मुलुकमा उभ्याउने आन्दोलन हो । विपक्षीहरु वाम गठबन्धनसँग हारको सुनिश्चितता भएपछि यस्ता निराधार आरोपहरुमा उभिएका छन् । यस्ता आरोप आम सर्वसाधारण र मतदाताहरुले विश्वास गर्ने कुनै सत्यता नै छैन । हारको मानसिकतामा उभिएका हाम्रा विपक्षीहरुले यस्ता भ्रम फैलाउनु गलत कार्य हो ।

    यहाँले आफ्नो क्षेत्रमा कस्ता समस्याहरु देख्नुभएको छ ?
    –राजनीतिक हिसाबले हेर्दा मेरो क्षेत्रमा विकासमा सन्तुलन नभएको, यातायात, विद्युत, रोजगार जस्ता कुराहरु व्यवस्थित रुपमा अगाडि नबढेको देखेको छु । यसको साथसाथै डुबानको समेत यहाँ समस्या रहेको छ । मेरो जित सँगै यी समस्याहरु समाधान हुनेमा जनताहरुलाई म विश्वस्त दिलाउन चाहन्छु ।

    यहाँले आफ्नो जित कति प्रतिशत सुनिश्चित देख्नुहुन्छ ?
    –सरसर्ती हेर्दा म मेरो जित ८० प्रतिशत सुनिश्चित देख्दछु । मेरा प्रतिस्पर्धीहरु राजनीतिक क्षेत्रबाट भन्दा पनि विभिन्न तहबाट प्रतिस्पर्धामा आएका छन् । यसकारण पनि यस क्षेत्रका जनताले मलाई मतदान गरेर अत्यधिक बहुमतका साथ विजयी बनाउनेमा विश्वस्त छु ।

    मतदाताहरुलाई केही सन्देश दिन चाहनुहुन्छ ?
    –अब देशै वाम गठबन्धनको विजयतिर लम्किरहेको बेलामा यहाँका मतदाताहरुले पनि वाम गठबन्धनको तर्फबाट क्षेत्र नं ३ (क)को प्रदेश सभामा गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरी मलाई विजयी बनाउन र प्रतिनिधि सभा सदस्यका लागि सूर्यमा मतदान गरी आदरणीय व्यक्तित्व घनश्याम भुषाललाई विजयी गराउनुहुन अनुरोध गर्दछु । यो भएमा भैरहवाको विकास अबको केही वर्षमा धेरै अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.