सावित्री घिमिरे
भैरहवा, वैशाख । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा रहेको दीपज्योति महिला सचेतना समूहले सामाजिक क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको छ ।
महिला सचेतना समूहले भैरहवा लगायतका क्षेत्रहरुमा पुगेर जनचेतनामूलक कार्यक्रमहरु अन्तर्गत चेलीबेटी बेचबिखन, लागूऔषध दुव्र्यसनी, महिला हिंसा, बाल विवाह तथा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कामहरु गरिरहेको सूचना शाखाले जानकारी दिएको छ ।
भैरहवाको अन्नपूर्ण टोलमा रहेका १४ जना महिलाहरुको समूहले २०६३ सालमा स्थापना गरेको यस संस्थाले स्थापनासँगै महिला स्वरोजगार, क्षमता अभिवृद्धि, सुरक्षित मातृत्व कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको समूहकी अध्यक्ष शान्ति अधिकारीले जानकारी दिइन् ।

संस्थाले महिला तथा बालबालिकाहरुको क्षेत्रमा विभिन्न समस्यामा परेका महिला तथा बालबालिकाहरुलाई आर्थिक सहयोग समेत उपलब्ध गराउने गरेको छ । समूहले आफ्नै कोष स्थापना गरी स्थानीय क्षेत्रमा भैपरी आउने समस्यालाई समाधान गर्नका लागि समेत कोषको स्थापना गरेको संस्थाकी अध्यक्ष अधिकारी बताउँछिन् ।
संस्था स्थापनासँगै शुरु गरेको सामाजिक जनचेतनामूलक कार्यक्रम अन्तर्गत महिलाले आफै निर्णय गर्न पाउने अधिकार, किशोरी अवस्थामा अपनाउनुपर्ने संवेदनशीलता, लागूऔषध दुव्र्यसनको पहिलो चरण एचआइभी एड्ससँग सम्बन्धी जानकारी सम्बन्धित कार्यक्रमहरु समेत विभिन्न क्षेत्रमा पुगेर गर्ने गरेको संस्थाकी सचिव रेखा पन्थीले बताइन् ।
महिलाहरुले बचत गर्ने बानी बसाल्न बचत कोषको सुरुवात गरेको यस संस्थाले विभिन्न क्षेत्रमा पुगेर विभिन्न कार्यक्रमहरुलाई समेत अगाडि बढाउने गरेको सचिव पन्थीको दाबी रहेको छ ।
आकस्मिक कोष स्थापना गरी सोही कोषको ब्याजबाट यस क्षेत्रमा आउने समस्याहरुलाई तुरुन्त सहयोग गर्ने कामहरु समेत संस्थाले गरिरहेको देखिन्छ । हालसम्म संस्थाले आकस्मिक रुपमा आर्थिक समस्या परेका ११ जना प्रशुती महिलाहरुलाई, ५ जना दुर्घटनामा परेकाहरुलाई, ४ जना मृगौला सम्बन्धी समस्या भएका, १ जना करेन्ट लागेकालाई, ४ जना फोक्सोको उपचार गर्नका लागि, ४ जना घाँटीको अप्रेसन गर्नको लागि, ५ जना निमोनिया उपचारका लागि, २ जना घरेलु हिंसा पीडित, १ जना किरियापुत्री, २ जना टाउकोको ट्युमर, १ जना पाठेघरको क्यान्सर, ४ जिल्लामा भूकम्प पीडितलाई, ३ जिल्लामा बाढी पीडितलाई र ६ स्थानमा रहेका मठमन्दिरहरुमा आर्थिक सहयोग उपलब्ध गराएको संस्थाको रेकर्डमा देखिन्छ ।
संस्थाले सुरक्षित मातृत्व, असहाय, अशक्त, दीर्घरोगीहरु र प्राकृतिक प्रकोपमा परेकाहरुलाई मुख्य रुपमा सहयोग उपलब्ध गराउँदै आएको बताएको छ । यसका साथै मुटु, मृगौला, क्यान्सर जस्ता रोगीहरुलाई समेत बेलाबेलामा सहयोग उपलब्ध गराउने गरेको संस्थाकी सचिव पन्थीले बताइन् ।
यस संस्थाले महिलाहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न विभिन्न किसिमका तालिमहरुको व्यवस्था गर्नुका साथै क्षमता तथा बौद्धिक विकासका लागि समेत महिलाहरुलाई अग्रसर गराउने गरेको संस्थाको सूचना शाखाले जानकारी दिएको छ ।
महिलाहरुलाई आय आर्जन तथा सीपमूलक क्षेत्रमा दक्षता अभिवृद्धि गर्नका लागि समेत विभिन्न सेमिनार गोष्ठी तथा तालिमको व्यवस्था गर्ने गरेको देखिन्छ । स्थापनासँगै संघर्षका विभिन्न चरणहरु पार गर्दै आएको यस संस्थाले बहुवर्षीय वृक्षरोपण कार्यक्रम, शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम, संस्कार र संस्कृति जोगाउनका लागि धार्मिक तथा सांस्कृतिक कार्यक्रम समेत गर्ने गरेको संस्थाको वार्षिक प्रतिवेदनमा देखिने गरेको छ । समाजका विभिन्न क्षेत्रमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, रक्तदान कार्यक्रम स्वास्थ्यका लागि खेलकुद कार्यक्रमहरुलाई अगाडि बढाइएको संस्थाको वार्षिक कार्यक्रममा देखिन्छ ।
शिक्षामा दीपज्योति
सामाजिक कार्यबाट जनतामाझ लोकप्रिय बनेको दीपज्योति महिला सचेतना समूहले सामुदायिक तथा नीजि विद्यालयहरुमा पुगेर त्यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गर्नुका साथै विभिन्न प्रकारका नैतिक कार्यक्रमहरु चलाउने गरेको छ ।
शिक्षाबाट वञ्चित रहेका गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई सामुदायिक तथा नीजि विद्यालयहरुमा भर्ना गर्ने र शिक्षा प्रदान गर्ने काममा समेत दीप ज्योति महिला सचेतना समूूह लागिरहेको स्थानीयहरु समेत बताउँछन् । यस संस्थाले सामाजिक कार्यप्रति निरन्तरता पाओस् शुभकामना ।