लुम्बिनीखबर
भैरहवा, असोज । भैरहवाको जनकपथमा रहेको न्यू सुपर मासु पसलले यो बर्ष ३ वटा मात्र जिउँदो खसी विक्री गर्यो । उक्त पसलले गत बर्ष ८० वटा जिउँदो खसी बिक्री गरेको थियो । तर यो पटक जिउँदो खसीको विक्री नगन्य रुपमा भयो । पसलका सञ्चालक जाकिर हुसेनले लुम्बिनीखबरसँंग भने, ‘मासुको खासै व्यपार भएन । तर ग्राहकले जत्ति खोजेपनि हामी तयारी अवस्थामा थियौँ । ’ हुसेनले भारतबाट खसीबोका नआएपछि दाङको ग्रामिण क्षेत्रमा पुगेर खसीबोका ल्याएका बताए । गत बर्ष भन्दा यो बर्ष व्यपार घटेकोमा उनी चिन्तित छन् । 
जिउँदो ६ सय र काटेको मासु प्रतिकेजी साढे आठ सयमा विक्री गरेका हुसेनले काटेको मासु भने सन्तोष जनक विक्री भएको बताए । उनले ३ वटा च्याङग्राको मासु प्रतिकेजी २५ सयका दरले विक्री गरेको पनि बताए ।
न्यू सुपर मासु पसल जस्तै भैरहवामा खसीको व्यपार गर्ने २९ वटा पसलहरु रहेका छन् । प्रत्येक पसलले कम्तिमा १० वटा खसी काटेर बेचेको रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष इजहार मुसलमानले बताए । अध्यक्ष हुसनेले भने , ‘मासुको कारोबार विगतमा जस्तो नभएता पनि सन्तोषजनक रहेको छ । भैरहवाभरी करिब चारसयको हाराहारीमा खसी बोका बिक्री भएका छन् । ’
मासुको मूल्यमा मनपरी
यसबर्ष व्यवसायीहरुले खसीबोका प्रायाप्त रुपमा नपाएको भन्दै दोकानै पिच्छे मूल्य फरक भेटिएकोछ । खसीको मासु अधिकांश पसलले ९ सय रुपैयाँ प्रतिकेजि बिक्री गरिरहेका छन् । जबकी मासु व्यवसायी संघले मासुको मूल्य प्रतिकेजी ८ सय ४० र कुखुराको ३ सय ४० कायम गरेको थियो । तर व्यवसायीले नौ सय रुपैयाँ किलो मासु बिक्री गरिरहेको उपभोक्ताले बताए । अर्कोतिर खसी, बोका, बाख्रा र च्याङग्राको मासु एकै ठाउबाट बेच्दा उपभोक्ताले मासु खरिद गर्न पसल जादा अलमलमा परेका देखिन्थे ।
रोकिएन अबैध खसी आयत
सीमावर्ति क्षेत्र भैरहवामा मूल भन्सारबाट बिगतका जस्तो ट्रकका ट्रक खसीबोका नभित्रिएता पनि चोरीबाटोबाट प्रहरीको सेटिंगमा भित्रीन भने छाडेन । यद्यपी उक्त सत्यलाई मासु व्यवसायीहरुले पनि स्वीकारेको अवस्था छ । भगवानपुर, सेमरपानी, मर्चवार र कालिदह नाकाबाट सयौँको संख्यामा स्वास्थ्य चेकजाच नगरिएका खसीबोका नेपाल भित्रिएका हुन् । जुन क्रम अहिले पनि रोकिएको छैन । शसस्त्र प्रहरी र नेपाल प्रहरीका घुमुवा (सूचना संकलक) सँग मिलेर खसीबोका व्यपारीले साईकल, मोटरसाईकल मार्फत दिउंसै खसीबोका नेपाल भित्राईरहेका छन् । जिउंदो खसीबोकाको अतिरिक्त केही व्यपारीहरुले सीमापारी सुनौलीमा काटेका बाख्रा (छेकडी) तथा भेडाको मासु समेत बोरामा हालेर एकाबिहानैं सीमावर्ति नेपालका मासु पसलमा छाड्ने गरेका पनि छन् ।
नेपाल सरकारले स्वास्थ्य प्रमाणपत्र नभएका खसीबोका आयतमा रोक लगाएपछि गएको फागुन यता एउटा पनि खसीबोका नेपाल भित्रिएका थिएनन् । तर गएको असोज पहिलो हप्ता कृष्णनगर भन्सारबाट स्वास्थ्य प्रमाणपत्र प्राप्त १ सय ५० गोटा खसीबोका ८ महिना पछि भारतबाट नेपाल भित्रिएका थिए । त्यसयता गरी कुल उक्त नाकाबाट जम्मा ४ हजार ३ सय २२ खसीबोका भित्रीएका छन् । यसैगरी बेलहिया नाकाबाट जम्मा १ सय ९८ खसीबोका नेपाल भित्रीएको पशु क्वारेन्टाइन कार्यलय भैरहवाका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धि उपाध्ययले बताए ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र नियमावलि अन्र्तगत रहेर विदेशबाट खसीबोका आयत गर्दा स्वास्थ्य प्रमाणपत्रलाई पशु क्वारेन्टाइनले अनिवार्य गरेपछि फागुन यता नेपालमा खसीबोका भित्रीन सकेका थिएनन् । त्यसअघि भारतबाट नेपाल भित्राउने खसीबोकाको सिधैं क्वारेन्टाईन हुने गर्दथ्यो । तर ०७५ फागुन यता भारत सरकारले जारी गरेको स्वास्थ्य प्रमाणपत्र नभएसम्म क्वारेन्टाईन नगर्ने नियम कडाई भएपछि खसीबोका आयत ठप्प भएको हो ।
यसरी झुक्काउछन् व्यपारीले
कोहीपनि उपभोक्ता मासु किन्न पसलमा गएमा उपभोक्ताको अर्डर अनुसार मासु काट्ने व्यक्तिले झुन्डाएको मासुको केही हिस्सा काट्दछ । केही थप टेबलमा रहेको मासु मिसाएर तौल मिलान गर्दछ । धेरैलाई थाहा हुदैंन की टेबलमा राखिएको अधिकांश मासु बाख्राको हुने गर्दछ । यसरी जत्तिसुकै सचेत उपभोक्तालाई पनि अधिकांश व्यवसायीले झुक्काउने गर्दछन् ।भर्खरै दसैं सकिएको छ । दसैंको अवसरमा आफन्तहरु भेटघाट हुने तथा मासु जन्य परिकारको बढी प्रयोग हुने गर्दछ । यसैले हरेक बर्ष करोडौं मूल्य बराबरको खसीबोका भारतबाट नेपाल भित्रीने गर्दथ्यो । तर अहिले स्वास्थ्य प्रमाणपत्र नभएका खसीबोका आयतमा प्रतिबन्ध लगाएपछि भारतबाट खसीबोका भित्रीने दर हवात्तै घट्न पुग्यो । तथापी नेपाली किसानहरुले पालेका खसीबोकाले पनि यसपटकको दसैं धानिएको छ । नेपालले अलिकति तयारी गरेमा नेपाल खसीबोकाको मासुमा आत्म निर्भर बन्न धेरै समय नलाग्ने देखिएको छ ।