कमल रायमाझी
भैरहवा, वैशाख । रुपन्देही ओमसतिया–५ दिपनगरका दशरथ अहिरलाई वन्दावन्दीको कुनै पर्वाह छैन । उनि विहान उठ्ने वित्तिकै खेतमा जान्छन् । पाकेको गहुँ काट्नमा उनलाई फुर्सतै छैन । परिवारका सदस्यहरुलाई पनि उनि अहिले गहुँ काट्नमा लगाएका छन् ।

उनले २ विघा क्षेत्रफलमा लगाएको गहुँ आधा काटिसके र वाकी पनि काट्ने क्रम दैनिक चलिरहेको छ । अरु बर्ष कम्वाइन हार्वेटर मेसिनले गहुँ काट्ने गरेका अहिरले यो बर्ष वन्दावन्दीका कारण गाउँपालिका बाट पास चाहिन्छ भने पछि आफैले काटेको बताउँनुहुन्छ । श्रीमती ,छोरा,बुहारी र नाती नातिनी गरि १० जनाको परिवार भएका ६१ बर्षिय अहिरले ६ महिना खाने खेति नस्यार्ने हो भने भोकै परिने बताउनुहुन्छ । यहि बालि केहि बिक्री गरेर घर खर्च पनि चलाउनु पर्ने र खानुपर्ने भएकाले वन्दावन्दीका कारण घरमा आफु वस्ने समय नमिलेको अहिरको भनाई रहेको छ । उनी जस्तै छिमेकीहरु पनि अहिले विहान देखि साझ सम्म गहुँ स्वार्नेमा नै व्यस्त छन् । उनिहरुलाई वन्दावन्दीले छोएको छैन ।
जिल्लाको समरीमाई गाउँपालिका–६ रोहिणीहवाका मोहमद असलम खान पनि अहिले गहुँबाली स्यार्नेमा व्यस्त रहनुभएको छ । ४ विघा क्षेत्रफलमा लगाएको गहुँबाली स्यार्न उहाँलाई गाउँपालिकाले मेसिनरी औचार चलाउनका लागि पास बनाईदिएको छ । त्यहि पासका आधारमा उहाँले मेसिनरी औजारको प्रयोग गरेर गहुँकाट्ने र घर सम्म ट्रयाक्टर मार्फत ल्याउने गरेको बताउनुहुन्छ । उहाँले जस्तै गाउँमा मेसिनरी औजार मार्फत गहुँकाट्नेले पास बनाए गहुँबाली भित्राउने गरेको खानले बताउनुहुन्छ
अहिर र खान त प्रतिनिधि पात्र मात्र हुन । जिल्लामा यस्ता हजारौ किसानहरुलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लगाएको वन्दावन्दीले छोएको छैन । विहान देखि साझ सम्म किसानहरु पाकेको गहुँवाली स्वार्नमा व्यस्त रहेका छन् । वन्दावन्दीमा घरभित्र वस्न, हातधुन र माक्स लगाउन पर्छ भन्ने कुरा उनिहरुले सुनेको भएपनि यो गर्न फुर्सतनै नभएको किसानहरुको भनाई रहेको छ ।
कृषि तथा पशुपछी विकास मन्त्री घनश्याम भुसालले कृषकहरुलाई खेति गर्न, पाकेको वाली स्यार्न स्वास्थ्य सम्वन्धी व्यक्तिगत सुरक्षा अपनाएर कार्य गर्न दिन स्थानिय तहलाई मन्त्रालयले निर्देशन दिएको बताउनुहुन्छ ।
‘कृषकहरुलाई स्थानिय प्रशासन र स्थानिय निकायको सहजीकरणमा कृषि सम्बन्धी कार्यगर्न पाउने गृह मन्त्रालय संगको समन्वयमा तल सम्म निर्देशन गरिएको छ’, मन्त्री भुसालले भन्नुभयो, ‘कृषकहरुलाई समस्या परे मन्त्रालयले सहसचिव डा. हरिवहादुर के.सी.लाई आधिकारी व्यक्ति तोकेको छ । उहांले किसानका समस्याहरु समाधान गर्न पहल गर्नुहुने छ ।’
जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले स्थानिय सुरक्षाकर्मी संगको समन्वयमा किसानहरुलाई सहजरुपमा खेती किसानी गर्न दिएको जानकारी दिनुभयो । उहाँले कृषकले उत्पादन गरेको कृषिजन्य पर्दाथ नजिकको बजार सम्म लैजान पनि कुनै रोकतोक नगरेको बताउनुभयो ।
रुपन्देहीमा ८२ हजार ६२२ हेक्टर खेति योग्य जमिन रहेको छ । आर्थिक वर्ष २०७६ ÷०७७ मा २५ हजार ९५५ हेक्टर जमिनमा गहुँ खेति गरिएको रुपन्देही समेत हेर्ने जिम्मा पाएको कृषि ज्ञान केन्द्र नवलपरासी पश्चिमका कृषि बैज्ञानिक अब्रिन्द्र मणी त्रिपाठीले जानकारी दिनुभयो ।
फोटो क्याम्पसः
कमल रायमाझी
भैरहवा,३ वैशाख (रासस)। जिल्लाको रोहिणी गाउँपालिका वगाहमा किसानहरुलाई गहुँ स्यार्नमा व्यस्त छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले वन्दावन्दी लगाएपनि किसानहरुमा यसको असर खासै परेको दैखिदैन ।