कमल रायमाझी
भैरहवा, ३१ वैशाख । नेपाल–भारत सीमाक्षेत्र सुनौली र नौतनहवामा रोकिएको करिव ५१० नेपालीलाई स्वदेश ल्याइएको छ ।
स्थानिय प्रशासन संगको सहकार्यमा सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले भारतिय पक्ष संगको छलफल पछि उनिहरुलाई नेपाल ल्याइएको हो ।
नौतनहवाको क्वारेन्टाइनमा २० दिन पुरा गरेका , महिला तथा बालबालिका, बृद्ध र विरामीहरुलाई स्वदेश ल्याएको सिद्धार्थनगर नगरपालिका रुपन्देहीले जनाएको छ ।
नेपाल ल्याइएका उनिहरुलाई सिद्धार्थनगर भित्र रहेका क्वारेन्टाइन र तिलोत्तमामा रहेका क्वारेन्टाइनमा राखी पिसिआर चेकजाच गरेर घर पठाइने सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सिद्धार्थनगरले भैरहवा नमुना बहुमुखी क्याम्पस र लिलाराम न्यौपाने उच्च मा.वि. मा रहेको क्वारेन्टाइनमा २७७ जनालाई राखेको छ । तिलोत्तमाले शंकरनगर मा.वि. र मधवलिया मा.वि.मा रहेको क्वारेन्टाइनमा २३३ जनालाई राखेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
यिनिहरुको चेकजाच गरि घर पठाएपछि सीमाक्षेत्रमा रहेका थप नेपालीहरु ल्याइने यि दुइ नगरपालिकाले बताएका छन् । भारतिय सीमाक्षेत्रमा अझ एकहजार बढि नेपाली अलपत्र परेका छन् ।