भैरहवा । लायन्स क्लब अफ शंकरनगरले विगत केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण प्रभावित भएका १० घरपरिवारलाई राहत वितरण गरेको छ । जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर १ मा बाढीबाट प्रभावित उक्त परिवारहरुलाई क्लबले रु. २५ सय बराबरको चामल, तेल र नुन वितरण गरेको हो ।
लायन्स क्लब अफ शंकरनगरका अध्यक्ष प्रकाश आत्रेयको अध्यक्षता एवम् ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जोन चेयर पर्सन मुकुन्द ज्ञवालीले मानवीय तथा सामाजिक क्षेत्रमा लायन्स क्लबले पुर्याउँदै आएको योगदान र गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बेल बहादुर बरालले समस्यामा परेका परिवारलाई क्लबले गरेको सहयोग पुनीत कार्य रहेको बताए । साथै उनले क्लबले गरेको कार्यको प्रशंसा र धन्यवाद दिँदै अगामी दिनमा आइपर्ने यस्ता प्राकृतीक विपदका बेला क्लबको साथ र सहयोग रहने कुरामा आफु बिश्वस्त रहेको बताए । त्यस्तै पत्रकार सरु रानाले क्लबले गरेको कार्यको प्रशंसा गर्दै यस्ता विपदका बेला सबैले एकअर्कालाई सक्दो साथ र सहयोग गर्नुपर्ने बताइन् ।
बाढीबाट प्रभावित भएका परिवारहरुलाई क्लबले गरेको सहयोग क्लबका सबै सदस्यहरुले आफु सक्दो सहयोग रकम संकलन गरी राहत सामाग्री खरिद गरेर वितरण गरिएको क्लबका अध्यक्ष प्रकाश आत्रेयले बताए ।