बुटवल । लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले चाडपर्व समयानुकुल परिवर्तन हुनुपर्ने बताएका छन् । प्रेस संगठन नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको तीज विशेष तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले चाडपर्व समयानुकुल परिवर्तन हुनुपर्ने तर आधुनिकताका नाममा विकृति भित्र्याउन नहुने बताए ।
परापूर्वकाल देखि चल्दै आएका संस्कृतिलाई संरक्षण गर्दै तीजलाई सचेतता पुर्वक मनाउनु पर्ने कुरामा उनले जोड दिए । साथै उनले संसदमा दर्ता भएको सञ्चार सम्बन्धी विधेयकबारे प्रदेशसभाको ध्यानाकर्षण भएको बताए । गत जेठ २४ गते प्रदेश सभामा दर्ता भएको उक्त विधेयकको व्यापक विरोध भएकोले प्रेससम्बन्धी कानुन निर्माणमा पत्रकारहरुको सुझावलाई मनन गरिने उनले बताए ।
तीजलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामला तथा योजना मन्त्रि कृष्णध्वज खड्काले संस्कृतिहरु समय अनुसार परिवर्तन हुने भएकोले संस्कृति भित्रको वैज्ञानिक पक्षलाई मात्रै अनुशरण गर्नु पर्ने बताए । उनले पछिल्लो समय संस्कृतिको नाममा विभिन्न विकृतिहरु सिर्जना भएको उल्लेख गर्दै प्रेस जगतले त्यस तर्फ पनि ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्ने क्रममा संविधान सभा सदस्य विनोद पहाडी, वरिष्ट पत्रकार डा. बालकृष्ण चापागाई, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरि, रुपन्देही अध्यक्ष रामराज पोखरेल, प्रेस संगठन रुपन्देहीका अध्यक्ष कमल रायमाझी, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृत अनमोल, सञ्चारिका समुह रुपन्देहीका अध्यक्ष निरु गौतम लगायतले प्रदेश सभामा दर्ता भएको सञ्चार सम्बन्धी विधेयक नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका थिए ।
प्रेस संगठन रुपन्देहीका अध्यक्ष कमल रायमाझीको अध्यक्षता एवम् प्रेस संगठन रुपन्देहीका सहसचिव अम्बिका परियारको सञ्चालन र सचिवालय सदस्य रिया क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रममा मुख्यमन्त्री कुल प्रसाद केसीका प्रेस संयोजकमा चयन भएका मानसिंह विश्वकर्मा नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्जमा चयन भएका रामप्रसाद बन्जाडे र जिल्ला संयोजकमा चयन भएका निर्मल जिसीलाई बधाई ज्ञापन सहित सम्मान गरिएको थियो ।