बुटवल, १३ असोज । लुम्बिनी प्रदेश सभा बैठक फेरि एक साताका लागि सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखिएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरि सरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
एमालेले आफ्ना सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही गर्नुपर्ने माग राख्दै बारम्बार सदन अवरुद्ध गर्दै आएको छ । सदन अवरुद्धको कारण प्रदेश सभाको नवौं अधिवेशन सुरु भएता कुनै पनि बैठक पूर्ण रुपमा बस्न सकेको छैन ।
एक साताका लागि सारिएको प्रदेश सभा बैठक अब असोज २० गते बुधबार बस्ने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।