भैरहवा । भैरहवा नमुना माध्यमिक विद्यालय रुपन्देहीले स्वागत, विदाई तथा सम्मान कार्यक्रम गरेको छ । विद्यालयका कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्वागत, कक्षा १२ को परिक्षा दिएर उच्च शिक्षाका लागि स्कुल छोडेर जाने विद्यार्थीलाई बिदाई र शैक्षिक उन्नयनका लागि महत्वपूर्ण भूमिका खेल्ने शैक्षिक व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
आइतबार भएको कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्य्यार्थी र विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । सोहि कार्यक्रमका बीच मायादेवी च्यारिटेवल फ़ाउण्डेसनका संस्थापक अध्यक्ष रवि कुमार रौनियार, रोहि गाउँपालिका अध्यक्ष सनोज कुमार यादव, रुपन्देही युवा समाजका अध्यक्ष विशाल गुप्ता, भैरहवामा क्रियाशील रहेका पत्रकार कमल रायमाझी, राधेश्याम विश्वकर्मा, विवेक विश्वकर्मा र पुष्पा पौडेललाई सम्मान गरिएको कार्यक्रम संयोजक संजय कुमार गुप्ताले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभाका सदस्य इस्तियाक अहमद खानले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भैरहवा नमुना मा वि विद्यार्थीहरुका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । उनले भैरहवा नमुना मा वि बाट उत्पादन भएका विद्यार्थीहरु देश विदेशमा रहेर उत्कृष्ट काम गरेको देख्दा आफुलाई गर्व महसुस भएको समेत बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा विद्यालयका नवनिवाचित अध्यक्ष आनन्द प्रसाद गुप्ताले भैरहवा नमुना मा वि गुणस्तर शिक्षाका लागि विद्यार्थीहरुको रोजाईमा पर्ने विद्यालय भएको कारण यहाँको शैक्षिक वातावरण निर्माण गर्न सधै प्रतिवद्ध रहेको जनाए । उनले विद्यालयलाई जिल्लाकै नमुना विद्यालयका रुपमा स्थापित गर्ने आफ्नो उद्धेश्य रहेको समेत प्रतिवद्ध व्यक्त गरे ।
कक्षा १२ का विद्यार्थी इरफान अलीको अध्यक्षता तथा शिक्षक रामेश्वर सुवेदीको संचालनमा रहेको कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव, सिनपा- ५ का वडा अध्यक्ष चेत बहादुर खत्री, भैरहवा नमुना क्याम्पस प्रमुख तुमानाथ अर्याल, विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डे, सह-प्राचार्य कमल नेपाल, शिक्षक जगत रायमाझी, पत्रकार कमल रायमाझी, मायादेवी च्यारिटेवल फ़ाउण्डेसनका संस्थापक रवि कुमार रौनियार, कक्षा १२ का संयोजक ओम प्रकाश विश्वकर्मा लगायतले बोलेका थिए ।