
बुटवल, १४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको रक्षा र आम नागरिकलाई यसको प्रत्याभूति गराउन प्रदेश सरकार निरन्तर लागेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय ललितपुरले बुटवलमा आयोजना गरेको विश्वव्यापी आवधिक समिक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री केसीले मानव अधिकार संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकार सधैं तयार रहेको बताएका हुन् ।
उनले विगत लामो समयदेखि द्वन्द्वको मारमा रहेको हाम्रो देशका दीर्घकालीन समस्याहरु सामाधन गर्न सक्रियरुपमा राज्य नै लाग्नुपर्ने बताउँदै संघीय सरकार त्यसमा बढी जिम्मेवार हुनुपर्ने बताए ।
मुख्यमन्त्री केसीले मानव अधिकार क्षेत्रमा काम गर्ने आयोग लगायत विभिन्न निकायहरु अपसी सहकार्य र सहमतिबाट अगाडि बढेर माधव अधिकार मैत्री देश बनाउन सरकारसँग विगतदेखि नै हातेमालो गरिरहेको स्मरण गराउँदै आगामी दिनमा यसलाई अझै बढावा दिनुपर्ने सबैलाई आग्रह गरे ।
उनले मावन अधिकारको क्षेत्र विस्तृत र फराकिलो भएकाले यस्ता अधिकार क्षेत्रका विषयमा सबैलाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा मानव अधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लिंगीय, धार्मिक, साँस्कृतिक । विभेदका विरुद्ध लगायत सबै मानिसको जन्मसिद्ध अधिकारलाई प्रत्याभूति गराउनको लागि नेपाल सरकार पक्ष राष्ट्र भएकोले गर्दा नेपाल सरकारले आफै कार्यन्वय गर्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार कानुन, महिला तथा बालबालिका, जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रस्तुतिकरणको क्रममा विश्वव्यापी मानव अधिकार ९ महासन्धि मध्ये ७ वटा महासन्धिमा नेपाल पक्ष राष्ट्र भइसकेको बताउँदै नेपालमा मानव अधिकारको क्षेत्रमा सुधार हुँदै गएको बताए ।