
पशुपति यादव
धकधई । जिल्लामा अनुगमन नहुँदा स्थानिय बजारहरुमा अनियमितता हुने गरेको छ । चाडपर्व नजिकिदैं गर्दा रुपन्देहीका ग्रामिण क्षेत्रमा रहेका बजारहरुमा अखाद्ध वस्तुहरुको मिलावट तथा बिक्रि वितरण हुँदा स्थानिय उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको देखिन्छ ।
जिलाको धकधई, मर्चवार, लुम्बिनी, रुद्रपुर सालझण्डी, मुर्गिया, देवदह लगायत क्षेत्रहरुमा बजार अनुगमन नहुँदा उपभोक्ता ठगिएका गुनासाहरु आउने गरेका छन् । जिल्ला बजार अनुगमन समितिले शहर केन्द्रित बुटवल र भैरहवा बजार मात्र अनुगमन गर्ने, स्थानीय सरकारले अनुगमनको व्यवास्ता गर्ने गर्दा उपभोक्ता ठगिएका हुन्, धकधई बजारका एक स्थानीयले बताए ।
बजारमा खसीको मासु बिक्रि गर्ने नाममा बुढी बाख्री काटेर मासु बिक्रि गरेको गुनासो गरे । उनले भने, ‘सरकारी निकायबाट अनुगमन र कारवाही नहुँदा खसी बोकाको नाममा बाख्रीको मासु बेच्ने संख्या दिनप्रतिदिन बढिरहेको छ ।’ स्थानीय बजार क्षेत्रमा गुणस्तरमा निम्न स्तरको चामल, शुद्ध दुधमा पानी थाप्नु, दुधमा रहेको चिल्लो पद्धार्थ हटाउनु, बासी दुध फाट्ने डरले कार्बोनेट–बाईकार्बोनेट, पार्न–स्टार्च मिलाउनु र मिसावट केहि व्यापारीले गर्ने गरेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार शुद्ध दुधमा वनस्पति दुध, बोसो, मैन मिसावट गर्ने गरेको, तोरीको तेलमा आर्जि, मोन दाना, मिठाईमा बिना स्वीकृत रंग, धुलो मसालामा काठको धुलो, महमा चिनीको चास्नी मिसाउने गरेका छन् ।
यस क्षेत्रमा रहेका सुन पसल, खाद्यान्न पसल, हार्डवेयर पसल, गल्लाभण्डारमा समेत नापतौलमा ठगि गर्ने गरेको एक सेवाग्राहीले बताए । केहि पेट्रोल पम्पहरुले समेत उपभोक्ताहरुलाई ठग्ने गरेको गुनासाहरु आउने गरेका छन् । यस विषयमा लुम्बिनीखबरले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसंग बुझ्दा उनले चाडपर्वको बेलामा हुने उपभोक्ता ठगिलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको जानकारी दिए ।
रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले स्थानीय बजारमा उपभोक्ता ठगिएका गुनासाहरु आउने गरेको बताउदै रोहिणी गाउँपालिकामा अनुगमन गर्ने तयारी गरिरहेको बताए ।