भैरहवा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड भैरहवा शाखाले शुभकामना आदानप्रदान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भैरहवामा बुधबार एक कार्यक्रमका बीच दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक एवं प्रेरक वक्ता सुरेन्द्र थापाले अरु बीमा कम्पनीहरु भन्दा रिलायबलले आमजनमानसमा छुट्टै छाप बनाउन सफल रहेकोले अब छिट्टै नेपालको पहिलो स्थानमा आउने बताए । उनले जीवन बिमा अभिकर्ता पेशा सामाजिक सेवा संगै जोडिएको एक सफल व्यवसाय पनि रहेकोले यसमा निरन्तर लाग्नु पर्ने बताए ।
त्यस्तै एमडी आरटी पशुपति बस्यालले आफ्नो पेशाप्रति जिम्मेवार भई कार्य गर्न अनुरोध गर्दै अभिकर्ताको मूल्य र मान्यतालाई सदैव कायम राखी बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडि बढाउन बीमा अभिकर्ता आचारसंहिताको पालना गरी कम्पनीको गरिमा र छविलाई उच्च राख्नुपर्ने बताए ।
बीमा जगतमा रिलायबल अन्य बीमा कम्पनीहरुको तुलनामा छुट्टै छाप बनाउन सफल रहेको र आफुहरु यस बीमा कम्पनीसंग गासिन पाउँदा गर्व महसुस भएको एजेन्सी मेनेजरहरुले बताए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका भैरहवा शाखा प्रमुख गणेश गैरेको अध्यक्षता, करिस्मा ज्ञवालीको स्वागत मन्तव्य र प्रबिन कंडेलको संचालनमा भएको कार्यक्रममा ६० बढीको उपस्थिति रहेको थियो ।