
भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजनामा भैरहवामा तिहार महोत्सव हुने भएको छ । आयोजक संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरी कार्तिक १४ गते आइतबार भैरहवा स्थित पौवा होटलमा तिहार महोत्सव हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी अध्यक्ष तनु शर्मा कसौधनले महिला तथा बालबालिकाहरुको सहयोगार्थका लागि महोत्सव गर्न लागिएको बताईन् । स्थापना कालदेखि नै क्लबले महिला तथा बालबालिकाहरुको हितमा काम गर्दै आएको र यसलाई निरन्तरता दिनका लागि सहयोग पुग्ने उद्येश्यले तिहार महोत्सवको आयोजना गरिएको उनले जानकारी दिईन । यस महोत्सवबाट संकलन भएको रकमबाट सिद्धार्थनगर– ९ स्थित गोनहिया गाउँका महिला तथा बालबालिकाहरुका लागि विभिन्न किसिमका सिपमुलक तालिमहरु गरिने हाम्रो मुख्य उद्येश्य हो, उनले भनिन् ।
उक्त महोत्सवमा मुख्य आकर्षणको रुपमा नेपाल आइडल प्रतियोगी अफ्सर अली आउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्यक्ष सांगीतिक प्रदर्शनहरु, तिहार विशेष वस्तु किनमेलका स्टलहरु, विभिन्न प्रकारका फुड स्टलहरु, फोटो बुथ र परम्परागत नृत्यहरुको समेत आकर्षण रहने कार्यक्रम संयोजक माधुरी थापाले बताईन् । कार्यक्रम प्रवेशका लागि १ हजार रुपैंयाको टिकट लिनुपर्ने उनले बताइन् ।
क्लबकी अध्यक्ष तनु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नन्दलाल गोयनका, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, रुपमा हिराचन लगायतले शुभकामना मन्तव्य राख्दै लायन्स क्लबहरुले आर्थिक रुपमा पछाडि पारिएका विभिन्न समुदायमा गएर उनीहरुको शिक्षा, स्वास्थ्य तथा आर्थिक विकासका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको समयमा गोनहिया जस्तो अल्पविकसित र पछि परेको गाउँलाई महत्व दिएर कार्यक्रम गर्नु निकै प्रसंशनीय रहेको बताए ।
कार्यक्रम संयोजक माधुरी थापाको स्वागत मन्तव्य, लेडी युथकि प्रथम उपाध्यक्ष निपा क्षेत्रीको संचालन तथा डिष्ट्रिक एडभाईजर एमजेएफ नन्दलाल गोयनकाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।