दीपक जैसवाल
लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का वडाध्यक्ष अकरम मुसलमान प्रहरीको हिरासतमा छन् । किर्ते नागरिकता बनाएको आरोपमा उनीसहित दुई जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीको भनाइ छ ।
वडा अध्यक्षसँगै हिरासतमा रहेका महेन्द्र कोहार गैडहवा गाउँपालिका–३ गोबडउरीका बासिन्दा हुन् । लुम्बिनी साँस्कृतिक–११ का जैसराम कोहारले वडा अध्यक्षको सहयोगमा महेन्द्रलाई छोरा कायम गरी वंशजको आधारमा नागरिकता बनाएको आरोप छ ।
जैसरामका नक्कली छोरा बनेका महेन्द्र कोहारका आफ्नै बुबा चिनक कोहार जन्म आधारको नेपाली नागरिक हुन् । उनले २०६३ सालको टोलीमा साविकको विष्णुपुरा गाबिस–५, हाल गैडहवा गाउँपालिका–३० बाट नागरिकता प्राप्त गरेका छन् ।
बुवा जन्म आधारको नागरिक भएको हुनाले महेन्द्रले नागरिकता निकाल्न गार्हो भएपछि ससूरा नाता पर्ने लुम्बिनी साँस्कृतिक–११ का जैसराम कोहारले वडा अध्यक्ष सहितको मिलेमतोमा उनलाई छोरा कायम गरी नागरिकता बनाएको महँगू कोहारको आरोप छ ।
प्रहरी हिरासतमा रहेका महेन्द्र कोहार बुबा महँगू कोहार र आमा मीना कोहारकी छोरी माया कोहारका पति हुन् । दाजुका छोरी/ज्वाइँलाई आफ्नै छोरा कायम हुने गरी वंशजको आधारमा नागरिकता निकालेका जैसराम कोहार, महँगू कोहारका सहोदर भाइ हुन् ।
जैसराम कोहारकी पत्नी र बालबच्चा कोही छैनन् । भाइ नाताले महँगू कोहार उनको सम्पत्तिको एकमात्र वास्तविक हकदार हुन् । महेन्द्र कोहारको नक्कली बुबा बनेका जैसराम कोहारको २०७५ साल चैत्र महिनामा मृत्यु भइसकेको छ ।
जैसराम कोहारले महेन्द्र कोहारलाई छोरा कायम गरी २०७५ पुष २९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट नागरिकता निकालेको थाहा पाएलगत्तै महँगूले सो नागरिकता बदरका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुर गरेको बताइएको छ । यो कारबाही अख्तियारले गर्दा नै भएको बताइएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाको ११ नम्बर वडा कार्यालयबाट प्राप्त जानकारीअनुसार २०५४ असार १० गते जन्ममिति देखिएका महेन्द्र कोहारले २०७५ पुस १६ गते आफ्नो जन्मदर्ता बनाएका हुन् । तत्कालीन वडा सचिव महाशर्मा अधिकारीले जन्मदर्ता बनाएको वडा कार्यालयको अभिलेखमा उल्लेख छ । जुन पछि काटिएको छ ।
सो सम्बन्धमा रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेललाई फोन गरी बुझ्न खोज्दा विस्तृत बताउन नचाहेपनि उनका अनुसार हिरासतमा रहेका वडाध्यक्ष अकरामुद्दीनलाई लिखतसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप भई कारबाही प्रक्रिया अघि बढाइएको छ ।
त्यसैगरी, लुम्बिनी साँस्कृतिक नगरपालिका–१० का वडाध्यक्ष रमजान अलि मियाँ प्रहरीको खोजी सूचीमा छन् । किर्ते नागरिकता बनाई भारतीय नागरिक रहेका आफ्नै ससूराको नाममा नक्कली जग्गाधनी पुर्जा खडा गरी बिक्री–वितरण गरेको उनीमाथि आरोप छ ।