logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    डरलाग्दा सडक दुर्घटना कहिले रोकिन्छ ?


    ९ पौस २०७८ , शुक्रबार

    डरलाग्दा सडक दुर्घटना कहिले रोकिन्छ ?

    कमल रायमाझी
    भैरहवा । स्याङजा चापाकोट नगरपालिका वार्ड नम्बर ४ बस्ने ५३ वर्षिय गितानाथ खनालको यहि मंसिर ११ गते सडक दुर्घटनामा मृत्यु भयो ।
    सिद्धार्थ राजमार्ग अन्तरगत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग ११ प ५४४४ नम्बरको मोटरसाईकलले सडक पार गर्ने क्रममा बुटवल बाट बेलहिया जादै गरेको ना. ३ ख. ३८६० नम्बरको ट्रकले ठक्कर दिदा उनको दुर्घटना भएको हो ।

    मोटरसाईकल चालक खनाल र मोटरसाईकलमा सवार उनका १३ बर्षिय छोरा संदिप खनाल दुर्घटनाबाट गंभिर घाईते भई उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गर्दागर्दै मृत्यु भयो । दुर्घटनाको मुख्य कारण ट्रकको तिब्र गति भएको ट्राफिक प्रहरीेले निष्कर्ष निकाल्यो । यो एक प्रतिनिधि घटना मात्र हो । जिल्लामा यसरी दुर्घटनाबाट मृत्यु हुनेको सख्या डरलाग्दो देखिन्छ ।

    जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको चौवर्षिय सवारी दुर्घटनाको रेर्कड अनुसार – आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷७८ सम्ममा ११९४ सवारी दुर्घटनामा ३९० जना मानिसको मृत्यु भएको देखिन्छ भने गंभिर घाईते ६४९ र घाईते ४१० जना भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ को मंसिर सम्म ६६ सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको देखिन्छ भने गंभिर घाईते ४५ र घाईते २३ जना भएका छन् । यस कारण रुपन्देहीमा दुर्घटनाले मानिसको मृत्यु, गंभिर घाईते र घाईते हुने संख्या हेर्दा डरलाग्दो देखिन्छ ।

    यस अवधिमा सबैभन्दा धेरै मोटरसाईकल दुर्घटना भएका छन् । त्यसपछि कारजिप र टेक्टर तथा ट्रक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै सवारी दुर्घटना चालकको लापरवाहीबाट हुने गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷७८ सम्म चालकको लापरवाहीबाट ५२१ वटा दुर्घटना, यात्रुको गल्तीबाट १४९ र तिब्रगतिबाट १५७ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ । ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, चौपाया, सडकको अवस्था, मौसमको अवस्थाका कारण पनि सडक दुर्घटना हुने गरेका छन् ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको बताए । वार्षिकरुपमा हजारौंको संख्यामा नयाँ सवारी साधन नेपालमा भित्रिने तर पुराना विस्थापित नहुनु, साँघुरा सडक, नशालु पदार्थ सेवन गरि सवारी साधन चलाउनु, फुटपाथको अधिकरण जस्ता कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी उपरिक्षक थापाले भने । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशभरी “चालक संग ट्राफिक प्रहरी” जस्ता चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक केशव के.सी. ले चालकहरुले ट्राफिक नियम पालना नगर्दा डर लाग्दा सडक दुर्घटना हुने गरेको बताए । सडक दुर्घटनाका लागि रुपन्देहीमा ट्राफिक प्रहरी स्कुल कलेज, क्लबहरु र यात्रुहरुसंग प्रत्यक्ष जोडिएर जनचेतना कार्यक्रमहरु गरिरहेको प्रहरी निरिक्षक के.सी. ले जानकारी दिए । उनले भने, सडक दुर्घटना न्युनिकरणका लागि हाम्रो अभियान चालक देखि यात्रुसंग हुन्छ ।

    रुपन्देहीमा पछिल्लो समय ट्राफिकले बढि भिडभाड हुने स्थानमा ट्राफिक लाईट जडान तथा अन्तरक्रिया र चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । असुरक्षित सडक संरचना, व्यवस्थित सवारी नियमन मापदण्डको अभाव, चालकको अयोग्यता, सवारी नियमको अज्ञानताका कारणले धेरै सवारी दुर्घटना हुनेगरेको सवारी दुर्घटना न्युनीकरण अध्ययन उप–समितिको २०७७ को प्रतिवेदनमा समेत उल्लेख छ । सडक दुर्घटना हुनुमा सवारी चालक र पैदलयात्रीहरु नै जिम्मेवार देखिने गरेको तथ्य भेटिन्छ । यसको न्युनिकरणका लागि चालक र यात्रुलाई जिम्मेवारी बनाउनु पर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.