
पशुपति यादव
धकधई । रोहिणी गाउँपालिका वडा नम्बर ३ ले आफ्नो वडा अन्तर्गत रहेका स्वयम्सेविकाहरुलाई साइकल वितरण गरेको छ । वडा कार्यालयले विनियोजित गरेको रकमबाट सोमबार एक कार्यक्रमका बीच स्वयम्सेविकाहरुलाई साइकल वितरण गरिएको वडा सदस्य रोहिणी मल्लाहले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले वडा नम्बर ३ का वडाबासीहरुलाई उनीहरुको घरदैलोमा पुगि स्वास्थ्य सेवा तथा परामर्श प्रदान गर्न स्वयम्सेविकाहरुलाई सहज हुने उद्द्येश्यले १८ थान साइकल वितरण गरिएको बताए । ‘वडाले विनियोजित गरेको एक लाख ५० हजारको रकमबाट जनताको सेवामा अहोरात्र खटिने स्वयम्सेविकाहरुले गर्ने सेवा र कामको सम्मान स्वरुप वडा कार्यालयले गरेको साइकल वितरण प्रशंसायोग्य छ’, उनले भने ।

त्यस्तै रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले निस्वार्थ रुपमा जनताको सेवामा खटिने स्वयम्सेविकाहरुलाई वडाले गरेको यो कार्यक्रम सानो भएपनि यसले उनीहरुलाई काम गर्न थप हौसला मिल्ने बताए । साथै उनले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रोहिणी गाउँपालिकाकि उपाध्यक्ष शिवकान्ति हरिजन, जनस्वास्थ्य संयोजक रामनेवास चौधरी, वडा सदस्य कबिता गौड, बेचनी पासी, निम बहादुर घर्ति, रोहिणी मल्लाह, वडा सचिव शान्ती कुमारी यादव लगायतको उपस्थिति रहेको थियो ।