
पशुपति यादव
धकधई । ओमसतिया गाउँपालिका वडा नम्बर ५ ले आफ्नो वडा अन्तर्गत रहेका स्वयम्सेविकाहरुलाई साइकल वितरण गरेको छ । वडा कार्यालयले विनियोजित बजेटबाट मंगलबार एक कार्यक्रमका बीच स्वयम्सेवीकाहरुलाई साइकल वितरण गरिएको वडा सचिव राज अलि अन्सारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पटखौली स्वास्थ्य चौकीका प्रमुख श्रीकृष्ण यादवले वडा नम्बर ५ का वडाबासीहरुलाई उनीहरुको घरदैलोमा पुगी स्वास्थ्य सेवा तथा परामर्श प्रदान गर्ने स्वयम्सेविकाहरुलाई सहज हुने उद्द्येश्यले १५ थान साइकल वितरण गरिएको बताए । वडाले विनियोजित गरेको एक लाख ५० हजारको रकमबाट जनताको सेवामा अहोरात्र खटिने स्वयम्सेविकाहरुले गर्ने सेवा र कामको सम्मान स्वरुप वडा कार्यालयले गरेको साइकल वितरण प्रशंसायोग्य रहेको उनले बताए ।
त्यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रकाश कुर्मी चौधरीले निस्वार्थ रुपमा जनताको सेवामा खटिने स्वयम्सेविकाहरुलाई वडाले गरेको यो सम्मान सानो भएपनि यसले उनीहरुलाई काम गर्न थप हौसला मिल्ने बताए । साथै उनले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
५ नम्बर वडाका वडा अध्यक्ष ओमप्रकाश कुर्मी चौधरीको अध्यक्षतामा भएको कायक्रममा मौसम प्रतिकुल भएको कारण सोचेको भन्दा अन्य अतिथिहरुको उपस्थिति केहि न्यून रहेको थियो । कार्यक्रममा वडा सदस्य सावित्री धोवी, का स रामवरण यादव, समाजसेवी नारद यादव लगायतको उपस्थिति रहेको थियो ।