
पशुपति यादव
भैरहवा । साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलकान्त खनालको प्रमुख आतिथ्यतामा “तपाईंको सहयोग गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले सहकारीको सदस्यहरुको बचत तथा ऋणमा उतिकै सहभागीता हुनु पर्ने बताए । सहकारीका सम्पुर्ण सदस्यहरुलाई सक्रिय भएर सीपमुलक काम गर्ने र संस्था मार्फत त्यसलाई स्वरोजगार बनाउन सकिने उनले बताए । उनले रुपन्देहीलाई सहकारीको हबको रुपमा विकास गर्नु पर्नेमा जोड दिँदै त्यसका लागि सहकारीहरुले नितिगत रुपमा कार्य गर्नुपर्ने बताए ।
त्यस्तै बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष महालक्ष्मी गौतमले स्थापना कालदेखि १९ औं वार्षिक साधारण सभासम्म विभिन्न चुनौती र समस्याहरुको सामना गर्दै सहकारी ऐन, नियम, नीति, निर्देशिका एवं सहकारी मूल्य मान्यता बमोजिम सफल र सबल तरिकाले सञ्चालन गर्दै अघि बढेको बताइन् ।
सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दिपक श्रेष्ठ, संस्थाका भूतपूर्व अध्यक्ष रामबहादुर बस्नेत, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रतिनिधि आलोक शिवाकोटी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, अंकुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्तलाल कर्ण, वरिष्ठ लेखा परिक्षक लक्ष्मण पौडेल पोखरेलको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन दर्पण श्रेष्ठले गरेका थिए ।