जितेन्द्र थारु, पशुपति यादव
भैरहवा । देशमा कृषि क्रान्ति भए । क्रान्तिकै जगमा टेकेर व्यवस्था परिवर्तन भयो । लोकतन्त्र, गणतन्त्र हुदै देशमा संघियता आयो । क्रान्ति गर्नेहरु सत्तामा आए । देशमा तीन तहको सरकार आयो । क्रान्ति गर्ने बेला देखि कृषि क्रान्ति गर्ने भन्नेहरुको नीतिमा त कृषि क्रान्ति आयो तर व्यवहारमा कहिल्यै आएन । सधै नीति तथा कार्यक्रमहरुमा कृषि क्रान्तिका कुरा गरे पनि त्यसको लाभ कृषकले लिन सकेनन् भन्दा पनि सरकारले दिन चाहेन । दिनेलाई पनि नियतले दिएन ।
नेपाल कृषि प्रधान देश भनिए पनि कृषिलाई प्राथमिकतामा राखिएन । संघ वा प्रदेश सरकारले नीतिमा कृषि क्रान्तिका कुरा गरेपनि कृषक सधै पिडित नै भए । रोपाई गर्ने बेलामा मलबिउमा लफडा, धन, गहुँ फल्यो मुल्यमा लफडा । यसरी किसानले कृषिमा गरेको लगानी पनि उठाउन नसक्ने भएपछि कसरी हुने हो कृषि क्रान्ति ?
वर्तमान अवस्थामा देशमा तीन तहको सरकार छ । गाउँ होस् या शहर कृषिसम्बन्धी हरेक कार्यक्रममा सरकारी निकायका सरोकारवालाहरुले कृषि क्रान्तिको विषयमा ठुलो भाषण नगर्ने प्राय कमै सुनिन्छ होला । ती सरोकारवालाहरुको नीतिमा त कृषि क्रान्ति हुन्छ तर व्यवहारमा हुदैन । व्यवस्था परिवर्तन त भयो तर नीतिमा भएका कुराहरु कहिल्यै परिवर्तन भएर व्यवहारमा देखिएन ।
असार १५ का दिन सरकारको स्थानिय, प्रदेश र संघीय तहका सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरु खेतमा धान रोपेको र हलो जोतेको फोटाहरु समाजिक सञ्जालमा भरिभराउ हुन्छ । तर वर्षको आधा दिन बाँझो रहने जमिनका लागि कुनै पनि सरकार र सरकारी निकायका कर्मचारीहरुले सोचेनन् भन्दा पनि सोच्न चाहेनन् ।
हरेक आर्थिक वर्षमा देशको तीनै तहका सरकारहरुले कृषि क्षेत्रका लागि ठुलो बजेट छुट्याउने गर्छन् । जुन छुट्याउन पनि आवश्यक छ । तर कार्यान्वयन गर्ने बेला अनेकौ समस्या देखाइन्छ र कार्यान्वयन रोकिन्छ । सरकारका नाराहरु हेर्दा त कृषि क्रान्ति होला जस्तो लाग्छ तर व्यवहार हेर्दा कागजमा मात्र सिमित ।
स्थानिय निकायको चुनाव पछि स्थानिय सरकार सबैको आशा भरोसाको केन्द्र बनेको छ । बजेटको टाउको संघीय सरकार भएपनि स्थानिय सरकारले कृषि क्रान्ति गर्न चाहे असम्भव नहोला भनि सर्वसाधारणले पनि सहजै बुझ्न र अनुमान गर्न सक्छन् । संघदेखि स्थानिय तहसम्म बेलाबखत कृषि क्रान्तिका चर्चाहरुले निकै ठुलो पाउने गर्छन् । कृषि प्रधान देशमा चर्चा हुनु पनि सुखद् हो तर चर्चाले मात्रै किसानका आधारभूत आवश्यकताहरु पूरा हुदैनन् । यसका लागि व्यवहारमा कृषि क्रान्ति गर्नु आवश्यक छ ।
सोही पदयात्रामा जिल्लाको रोहिणी गाउँपालिकाले हिड्ने प्रयास गरेको छ । गाउँपालिकाले विभिन्न कार्यक्रमहरु मार्फत् किसानहरुलाई जोड्ने काम गरेको छ । गाउँपालिका किसानको पिडालाई सकेसम्म हल गर्ने अभियानमा लागेको देखिन्छ ।
रोहिणी–३ का मुकेश मल्लाह करिब डेढ विघामा तरकारी खेती गर्छन् । उनी व्यवसायिक रुपमा मौसमी एवं बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्ने योजना अनुसार तरकारी खेतमिा लागेका छन् । तरकारी खेतीबाटै आफ्नो दैनिकि चलाउने योजनाका साथ यो पेशामा छिरेका मल्लाहलाई गाउँपालिकाको साथ र सहयोग रहेको मल्लाह बताउँछन् । उनी जस्तै गाउँपालिकाभर दर्जनौ कृषकहरु तरकारी खेतीमा अहिले रमाइरहेका छन्, जसको श्रेय गाउँपालिका हो भन्दा फरक नपर्ला ।
रोहिणी गाउँपालिका कृषि अनुदान होस् या कृषकहरुलाई सम्मान तथा पुरस्कृत गर्ने काममा निरन्तर लागिपरेको छ । गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवका अनुसार, कृषक वर्गीकरण र कृषक परिचयपत्र तथा खाद्यन्न र बिउ उत्पादनका आधारमा गाउँपालिकाले कृषकहरुलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरेको छ । केही वर्ष अघि करिब २० प्रतिशत गहुँ खेती हुने ठाउँमा अहिले ९५ प्रतिशत गहुँ खेती भएको विगत सुनाउदै अध्यक्ष यादवले भने, ‘म स्वयम् किसानको छोरो भउको कारण कृषकको हरेक दुखसुख बुझेको छु ।’ ‘अहिले हामी कृषि क्रान्तिको प्रयासमा छौ’ उनले भने ।
गाउँपालिकाले चार वर्षको अन्तरालमा तीन तहको सरकार र कृषकहरको जनसहभागितामा अनुमानित ३ करोडको लगानि गरेको छ । कृषकलाई व्यवसायिक बनाउन उत्पादन तथा कृषि उपकरणमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । अहिले गाउँपालिकाले बालीअनुसारको पकेट क्षेत्र विस्तारमा पनि विषेश जोड दिएको छ ।
उत्पादित वस्तुहरुको प्रशोधन तथा बजारीकरणमा योगदान पुर्याउने उद्येश्यले प्रशोधन केन्द्रहरु निमार्ण गर्ने र समूह, सहकारीहरुलाई उत्पादन र बजारीकरण प्रक्रियामा सहभागी गराउने निति बनाउने तयारीमा आफुहरु जुटेको कृषि शाखा प्रमुख जितेन्द्र यादवले बताए । ‘चार वर्षको अवधीमा गाउँपालिकाभर ३ सय ठाउँमा पानी तान्ने बोरिङको व्यवस्था गरिएको छ, सिचाईको राम्रो व्यवस्था भएपछि कृष्ककहरु निकै खुशी छन्,’ उनले भने ।
त्यस्तै माछापालनको उच्च सम्भावना रहेको यस गाउँपालिकालाई माछापालनको पकेट क्षेत्र बनाउने तयारी पनि भइरहेको छ । रोहिणी वडा नं. ५, ६ र ७ लाई माछापालनको हबको रुपमा विकास विस्तारमा विषेश जोड दिइएको माछा शाखा प्रमुख वृहस्पति भट्टराईले बताए । यसरी कागजमा भन्दा पनि व्यवहारमा कृषि क्रान्तिको कुरा आम किसानले हेर्न चाहेका छन् ।