
जितेन्द्र चौधरी
भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको भिम अस्पतालमा उत्कृष्ट उपचार हुने गरेको छ । वि.सं. १९९० सालमा स्थापना भएको यो अस्पताल विपन्न वर्गका नागरिकका लागि स्वास्थ्य उपचार गर्ने मुख्य अस्पताल पनि हो । सामान्य उपचार पद्धतिबाट सुरु भएको यो अस्पतालमा हाल आधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने गरेको भिम अस्पतालको सूचना शाखाले जनाएको छ ।
अस्पतालमा सात जना विशेषज्ञ डाक्टर र १० जना एम.बि.बि.एस डाक्टरहरु कार्यरत रहेको अस्पताल प्रशासनको तथ्यांकमा देखिन्छ । हाल अस्पतालमा २४ घण्टे एर्मेजेन्सी सेवा, ओपिडी सेवा, डेन्टल, अपरेशन, एक्सरे, प्रसुति, इन्डोरल्याब, कोभिड वार्ड, एनआइसियु वार्ड, मातृशिशु क्लिनिक, अल्ट्रासाउण्ड सेवा लगायत दर्जन बढी विभागहरुबाट उपचारमा आउने विरामीहरुलाई सेवा दिइरहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ड डा. सकुन्तला गुप्ताले जानकारी दिइन् । डा. गुप्ताले भनिन्, “हामीले अस्पतालमा आउने बिरामीका लागि उच्च प्रविधिको प्रयोग र सर्वसुलभमा उपचार गर्ने गरेका छौ ।”
अस्पताल अधिकांस ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरु आउने मुख्य अस्पताल पनि भएकाले विरामीलाई प्राथमिकतामा राखेर उपचार गर्ने गरिएको छ । नेपालको पुरानो अस्पताल मध्येमा पर्ने भिम अस्पताल रुपन्देहीमा मात्रै नभएर कपिलवस्तु, नवलपरासी र भारतबाट समेत विरामीहरु उपचारका लागि यहाँ आउने गरेका छन् ।
कोभिडका बेलामा जिल्लाको मुख्य उपचार केन्द्रको रुपमा रहेको यो अस्पतालमा योग्य र प्रविधिमैत्रि १ सय ४८ जना कर्मचारीहरुले सेवा दिइरहेको अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले जानकारी दिए । हामी बिरामीको उपचारलाई उच्च प्राथमिकतामा राख्ने गरेका छौ । ज्ञवालीले भने, “बालबालिका देखि वृद्धाहरुलाई देखिने धेरै प्रकारका रोगको उपचार भिम अस्पतालले गर्दै आएको छ ।”
यसलाई अझ सुविधा सम्पन्न बनाउनका लागि आमसामुदाय, स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको आवश्यकता रहेको ज्ञवालीको भनाई रहेको छ । नेपाल सरकारले तोकेको मापदण्डमा चलेको भिम अस्पतालले महिला, बालबालिका तथा वृद्धाहरुलाई समेत विशेष सेवा सुविधाका साथ उपचार गर्ने गरेको अस्पतालका सुचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए ।
उनले भने, प्रदेशका अन्य सरकारी अस्पतालहरु भन्दा यो अस्पतालले दिने सेवाहरुमा खासै भिन्नता नरहेको तर आन्तरिक व्यवस्थापन र विशेषज्ञ डाक्टरहरुले विरामीहरुका लागि मुख्य प्राथमिकतामा राखेर विषेश उपचार गर्ने गरेका छन् । दैनिक सयौं विरामीको सेवा दिईरहेको भिम अस्पतालले यो आर्थिक बर्ष देखि अस्पताललाई आवश्यक अक्सिजन उत्पादनका लागि अक्सिजन प्लाण्टको स्थापना गरेको छ । यहाँ आन्तरिक फार्मेसी देखि विरामीहरुका लागि खानेपानी र क्याविनको व्यवस्था भएको अस्पतालले जनाएको छ ।
आईसियूका साथै गंभिर प्रकारका बिरामीका लागि भेन्टिलेटरको सेवा समेत अस्पतालले दिइरहेको अस्पतालको प्रशासन शाखाले जनाएको छ । महामानव गौतमबुद्धको प्रवेश नगरीमा रहेको यस अस्पतालले उत्कृष्ट सेवा दिन थाले पछि अहिले उपचारका लागि विरामीहरुको संख्यामा बढ्ने गरेको छ । सःशुल्क र निःशुल्क प्रकारका उपचार हुने यो अस्पतालमा भौतिक पुर्वाधार र नयाँ प्रविधिहरुको अभाव भने रहेको देखिन्छ । थप विशेषज्ञ सेवाको आवश्यकताका साथै जनमैत्री अस्पतालका रुपमा स्थापित गर्नका लागि राज्यले यस अस्पताललाई विशेष सहयोग गर्न आवश्यक छ ।