निर्वाचन आयोगमा दर्ता भएका ७९ मध्ये ६५ दल चुनावी मैदानमा
निर्वाचनमा १,०९,०८८ कर्मचारी परिचालन । ६५,८६५ स्वयंसेवक र ५,००० पर्यवेक्षक
विभिन्न पदमा ३९० जना निर्विरोध, ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध
२९३ मेयरका लागि ३,२३८ को उम्मेदवारी, त्यसमध्ये १,२४५ स्वतन्त्र
४६० अध्यक्षका लागि १,९६४ को उम्मेदवारी, ३०५ स्वतन्त्र
उपमेयरका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा ३ जेठमा मतदान
काठमान्डौ, ३० बैशाख । देशभरका सात सय ५२ स्थानीय सरकारको नेतृत्व छान्न शुक्रबार मतदान हुँदै छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रोपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । उपप्रमुखको उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा भने ३ जेठका लागि निर्वाचन सारिएको छ ।
निर्वाचनका लागि देशभर १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र तय भएका छन् । देशभर ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० महिला र एक सय ८३ अन्य गरी कुल एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता छन् ।
निर्वाचन आयोगले मतदानपूर्वका सम्पूर्ण तयारी सकिएको तथा मतदानलगत्तै मतपेटिका ढुवानी हुने र मतगणना सुरु हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगले जानकारी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदानपूर्वका काम सकिएको र अब मतपेटिकामा मत खसेपछि मतगणनाका लागि तयारी अवस्थामा रहेको बताए । ‘सात सय ५३ स्थानीय तहकै निर्वाचन भने पनि कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा उपप्रमुख पदको उम्मेदवारको मृत्यु भएकाले त्यहाँ कानुनबमोजिम जेठ ३ गतेलाई सारिएको छ । यसबाहेक सात सय ५२ स्थानीय तहको निर्वाचन शुक्रबार नै सम्पन्न हुनेछन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुभएको छ । मतदाता परिचयपत्र वितरण र मतदानस्थल निर्माण भइसकेको छ । सुरक्षाका सबै काम भइसकेका छन्, आवश्यक सम्पूर्ण सामग्री पुगिसकेका छन् ।’
आयोगका अनुसार निर्वाचनका लागि एक लाख नौ हजार ८८ कर्मचारी परिचालन भएका छन् । यसबाहेक ६५ हजार आठ सय ६५ स्वयंसेवक र पाँच हजार पर्यवेक्षक पनि खटिएका छन् । मतदाता परिचयपत्र नभए पनि मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले नागरिकता, राहदानीजस्ता सरकारी निकायबाट जारी भएका परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पूरा भएका नागरिक मतदाताको सूचीमा रहेको आयोगको भनाइ छ ।
सरकारले गत २४ माघमा सात सय ५३ वटै स्थानीय तहको निर्वाचन ३० वैशाखमा एकैचरणमा गर्ने गरी निर्वाचन मिति घोषणा गरेको थियो । देशभर ८९ हजार तीन सय १३ पुरुष र ५५ हजार ६ सय ९८ महिला गरी कुल एक लाख ४५ हजार ११ जनाको विभिन्न पदमा उम्मेदवारी परेको छ । जम्मा ३५ हजार दुई सय २१ पदमध्ये तीन सय ९० पदका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचनमा भाग लिन आयोगमा ७९ दल दर्ता भएका थिए । जसमध्ये ६५ दल निर्वाचनमा सहभागी भएका छन् । १४ दलले भने कुनै पनि उम्मेदवार उठाएका छैनन् । आयोगले निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र छापेको छ । २५ चैतदेखि आयोगले निर्वाचन आचारसंहिता लागू गरेको थियो । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको थियो ।
‘एसके– ३०८१ स्पेक्ट्रम बाइट ग्रिन’ रङको मतपत्र
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा मतपत्रमा दलहरूको निर्वाचन चिह्न राखिएको छ । जसअनुसार पहिलो नम्बरमा एमालेको निर्वाचन चिह्न छ । त्यसपछि क्रमश: कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी गरी राष्ट्रिय मान्यता प्राप्त दलका निर्वाचन चिह्न छन् । त्यसपछि जिल्लामा सक्रिय रहेका दलहरूले अघिल्लो निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा दलहरूको निर्वाचन चिह्न र त्यसपछि स्वतन्त्र उम्मेदवारका लागि चिह्न छन् । कुल २३ लहर समूहका १६ देखि ६४ लहरका जिल्लाअनुसार फरक–फरक मतपत्र छन् । त्यसैगरी स्वस्तिक छापको रङ नीलो रहेको छ ।
६ महानगर र ११ उपमहानगरमा धेरैको चासो
६ महानगर र ११ उपमहानगरमा धेरैको चासो छ भने प्रतिस्पर्धी दलहरूले शक्ति परीक्षणको थलो बनाएका छन् । केन्द्रीय तहबाटै तालमेल र उम्मेदवारी चयन भएकाले महानगर र उपमहानगरलाई प्रमुख दलहरूले प्रतिष्ठा बनाएका छन् । पाँचदलीय गठबन्धनबीच सबै महानगर र उपमहानगरमा तालमेल छ । एमालेले उपमेयर दिएर भरतपुरमा राप्रपासँग र वीरगन्जमा लोसपासँग तालमेल गरेको छ । कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगरको मेयर र भरतपुर, पोखरा र वीरगन्ज महानगरमा उपमेयर, माओवादीलाई भरतपुरमा मेयर र ललितपुरमा उपमेयर, एकीकृत समाजवादीलाई पोखरामा मेयर र काठमाडौंमा उपमेयर तथा जसपालाई वीरगन्जमा मेयर र विराटनगरमा उपमेयर रहने गरी सत्तागठबन्धनमा रहेका दलहरूले सिट बाडँफाँड गरेका छन् ।
त्यस्तै, उपमहानगरतर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, नेपालगन्ज, धनगढी र तुलसीपुर उपमहानगरको मेयर र जितपुर–सिमरा, घोराही, हेटौँडा र जनकपुर उपमहानगरको उपमेयर पाएको छ । माओवादीले जितपुर–सिमरा र घोराहीमा मेयर तथा धरान र धनगढीमा उपमेयर पाएको छ । एकीकृत समाजवादीले हेटौँडामा मेयर र इटहरी, बुटवल र तुलसीपुरमा उपमेयर लिएको छ । जसपाले जनकपुरमा मेयर तथा कैलया र नेपालगन्जमा उपमेयर पाएको छ ।
०७४ मा एमालेले काठमाडौं र पोखरा, कांग्रेसले ललितपुर र विराटनगर, माओवादीले भरतपुर तथा जसपाले वीरगन्ज महानगरमा जित हात पारेका थिए । त्यसैगरी, उपमहानगरतर्फ एमालेले धरान, इटहरी, जितपुर–सिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुर, कांग्रेसले कलैया र धनगढी, जसपाले जनकपुर र राप्रपाले नेपालगन्जमा जित निकालेका थिए । तर, ०७६ मा भएको उपचुनावमा भने धरान कांग्रेसको पोल्टामा गएको थियो ।