भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय ओमसतियाले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
निर्वाचन अधिकृत तारा कुमारी शर्माले अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी सहित ३२ जना जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित पालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले आफूले भाषणभन्दा पनि काममा जोड दिने प्रतिबद्धता व्यक्त गरे । उनले आफू शासक नभई सेवक बनेर सिंगो पालिकाबासीहरुको भावनालाई बुझेर काम गर्ने बताए ।
त्यस्तै उपाध्यक्ष सुनिता चौधरीले आफू पार्टी र व्यक्ति विशेषलाई प्राथमिकतामा नराखी पालिकाबासीहरुको हकहित र अधिकारको लागि सधैं लागिरहने बताइन् । उनले आफु महिला भएको नाताले पालिकाभित्रका सबै महिलाहरुलाई संगठित गर्ने र साथै न्यायिक काम गर्ने सिलसिलामा बिना पक्षपात निर्णय गरिने बताइन् ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले नवनिर्वाचित जनप्रतिनिधिहरुमाथि ठूलो जिम्मेवारी थपिएको बताए । उनले निर्वाचित जनप्रतिनिधि र पालिकाका कर्मचारीहरुबीच समन्वयकारी भावनाले मिलेर काम गरी समग्र पालिकाको विकासमा जोड दिनुपर्ने जिकिर गरे । साथै उनले स्थानिय तह निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्नका लागि अहोरात्र खटिने निर्वाचनका कर्मचारी र सुरक्षाकर्मीहरुलाई आभार व्यक्त गरेका थिए ।
त्यस्तै पूर्व गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल) ले चुनावका बेला जुनसुकै पार्टीको झण्डा बोकेको भएतापनि निर्वाचित भएपछि सबैले देशको राष्ट्रिय झण्डा बोकेर जनचाहना अनुरुप काम गर्नुपर्ने बताए । उनले धेरैजसो जनप्रतिनिधिहरु नयाँ अनुहारको भएकोले पालिकाका कर्मचारीसँग समन्वय गरी काम गर्नुपर्ने कुरामा जोड दिए । साथै उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
निर्वाचन अधिकृत तारा कुमारी शर्माको अध्यक्षता र डिल्लीराज ज्ञवालीको स्वागत तथा सहायक निर्वाचन अधिकृत लक्ष्मण पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।