
पशुपति यादव
धकधई । पहिलो पटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । उक्त स्थानीय तहको निर्वाचनले स्थानीय तहको सत्ता संचालन गर्न जनप्रतिनिधिहरुको छनोट पनि गर्यो । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको पाँच वर्षमा विभिन्न किसिमका विकास निर्माण तथा भौतिक संरचनाहरु तयार गरे ।
तर रुपन्देहीको रोहिणी गाउँपालिकाले विभिन्न भौतिक संरचना निर्माण गरेतापनि गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गर्न भने सकेन ।
तर बैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट रोहिणी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका जसपाका विद्या प्रसाद यादवले पालिकाको प्रशासनिक भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले सोमबार रोहिणी गाउँपालिकाको पदभार सम्हाल्दै वडा नम्बर ३ मा बाटो खुलाइ गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
सोमबार अध्यक्ष र उपाध्यक्षसँगै वडा अध्यक्ष तथा सदस्यहरूले समेत सपथ ग्रहण र पदभार सम्हालेका छन्।अध्यक्ष यादवलाई जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले भैरहवामा सपथ ग्रहण गराएको थियो । ततपश्चात् सोमबारअध्यक्ष यादवले गाउँपालिकामा एक समारोहको आयोजना गरी उपाध्यक्ष सहित अन्यलाई सपथ ग्रहण गराएका हुन् । पदभार ग्रहणपछि बोल्दै अध्यक्ष यादवले सबै राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी रोहिणीको साझा विकासमा लाग्ने प्रतिबद्धता जनाए ।