logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    दोहोरिनेहरु नै पराजित


    १५ जेष्ठ २०७९ , आइतबार

    दोहोरिनेहरु नै पराजित

    स्थानीय तह निर्वाचन–२०७४ मा निर्वाचित भएर पाँच वर्ष पालिका प्रमुखको जिम्मेवारीमा रहेकाहरु अहिलेको स्थानीय निर्वाचन–२०७९ मा पराजित भएका छन् । रुपन्देहीका १६ स्थानीय निकाय मध्यका ११ पालिका प्रमुखहरु यस पटकको निर्वाचनमा पनि उम्मेदवारी भएका थिए । जसमा १ बाहेक १० जनालाई जनताले पराजित गराएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्रबाट लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा निर्वाचित मनमोहन चौधरी यस पटक लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेर पराजित भएका छन् ।यस्तै, एमालेबाट सैनामैना नगरपालिकाको नगर प्रमुख जितेका चित्रबहादुर कार्की, सियारी गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित अयोध्या थारु, शुद्धोधन गाउँपालिकाबाट अध्यक्ष जितेका किशुनचन्द्र चौधरीलाई जनताले यस पटकको निर्वाचनमा पराजित बनाएका छन् ।

    तत्कालिन संघिय समाजवादी फोरम,नेपाल हाल जनता समाजवादी पार्टीबाट मर्चवारी गाउँपालिका अध्यक्ष निर्वाचित केशवनन्द बनिया, कोटहीमाई गाउँपालिका अध्यक्ष निर्वाचित चन्द्र भुषण यादव, गैडहवा गाउँपालिकाको अध्यक्ष जितेका बछु केवट र रोहिणी गाँउपालिका अध्यक्ष सनोजकुमार यादव पनि यस पटकको निर्वाचनमा पराजय हुनुपरेको छ । देवदह नगरपालिकामा नेपाली काँग्रेसबाट यसअघि नगर प्रमुखमा निर्वाचित हिराबहादुर खत्रीको उम्मेदवारी पनि यस पटक जनताले अनुमोदन गराएनन् । तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेका जितेन्द्रनाथ शुक्ला(बब्लु) पनि यस पटकको निर्वाचनमा पराजित भएका छन् । मायादेवी गाउँपालिका अध्यक्ष धुब्रनारायण चौधरी भने यस पटक पनि निर्वाचित भएका छन् । चौधरी बाहेक अन्य १० जना पालिका प्रमुख तथा अध्यक्षहरु पराजित भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । पालिका प्रमुखहरु मात्र नभएर अन्य पदमा उम्मेदवारी दिएका धेरैजसो २०७४ सालको स्थानीय निर्वाचनमा बिजयी जनप्रतिनिधिहरु अहिलेको निर्वाचनमा जनताले नरुचाएको देखिको छ । यस कारण जिल्लामा मायादेवी गाउँपालिका बाहेका का अन्य पालिका प्रमुखहरु पराजित हुनु जनताको नजरमा योग्य नहुनु हो । जनताको सामाजिक, आर्थिक र भौतिक विकासका साथ साथै शिक्षा स्वास्थ्य र रोजगारमा ध्यान नदिने जनप्रतिनिधिहरुलाई अहिलेको निर्वाचनमा जनताले तिरस्कार गरेको देखिन्छ ।

    रुपन्देहीको अन्तिम मतपरिणाम
    रुपन्देहीमा एक उपमहानगरपालिका, पाँच वटा नगरपालिका र दश वटा गाउँपालिका रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ को मतगणना अनुसार जिल्लाका सबै पालिकाको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भइसकेको छ । मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भएपछि निर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरी पदबहाली समेत गरेका छन् । रुपन्देहीको कुल १६ वटा पालिकाहरुकै मतगणना सार्वजनिक भइसकेका छन् ।
    १६ वटा पालिका (स्थानीय तह) रहेको रुपन्देहीमा १० वटा पालिकाको प्रमुख पद नेपाली काँग्रेसले जितेको छ । त्यस्तै नेकपा एमालेले ३ वटा तथा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता प्रगतिशिल पार्टीले एक एक पालिका जितेका छन् । पाँच दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रुपन्देहीमा शुन्य भए ।
    एक उपमहानगरपालिका र पाँच नगरपालिका रहेको रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका गरी पाँचवटा नगरपालिका काँग्रेसले जितेको छ । मेयरमा काँग्रेसले जितेका पाँचवटै नगरपालिकाको उपमेयरमा भने एमाले उम्मेदवार विजयी भएका छन् । त्यसबाहेक नेपाली काँग्रेसले सुद्धोधन, सियारी, कञ्चन, सम्मरीमाई र मायादेवी गाउँपालिका जितेको हो ।
    एमालेले देवदह नगरपालिका, ओमसतीया र गैडहवा गाउँपालिका जितेको छ । एक/एक पालिका जितेका जनता समाजवादी पार्टी (जसपा) ले रोहिणी गाउँपालिका, जनता प्रगतिशिल पार्टीले मर्चवारी गाउँपालिका र लोकतान्त्रिक समाजवादी पार्टीले कोटहीमाई गाउँपालिका जितेको हो ।
    काँग्रेसले जितेको बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेय र उपमेयरमा एमालेकी साबित्रा अर्याल, तिलोत्तमा नगरपालिकाको मेयरमा रामकृष्ण खाँण र एमालेकी जागेश्वरीदेवी चौधरी, सैनामैना नगरपालिकामा फाणेन्द्र शर्मा र उपमेयरमा एमालेकी विना राना, सिद्धार्थनगर नगरपालिकाको मेयरमा ईस्तियाक अहमद खान र उपमेयरमा एमालेकी उमा अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सजरुद्धिन मुसलमान र उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएका छन् ।
    त्यस्तैगरी काँग्रेसले जितेका गाउँपालिकाहरु सुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णुप्रसाद बस्याल र उपाध्यक्षमा एमालेकी शान्तादेवी चौधरी, सियारी गाउँपालिकाको अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा पनि काँग्रेसकै तारा थारु, कञ्चन गाउँपालिकामा नवराज ढकाल र उपाध्यक्षमा काँग्रेसकै मौषमी थापा, सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा विनोदप्रसाद श्रीवास्तव र उपाध्यक्षमा काँग्रेसकै कुमारी प्रियंका शाही तथा मायादेवी गाउँपालिकाको अध्यक्षमा ध्रुवनारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदादेवी उपाध्यायमा निर्वाचित भएका छन् ।
    त्यस्तै एमालेले जितेको देवदह नगरपालिकाको मेयरमा ध्रुव खरेल र उपमेयरमा पनि एमालेकै विद्यालक्ष्मी गुरुङ, ओमसतीया गाउँपालिकाको अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा काँग्रेसकी सुनिता चौधरी तथा गैडहवा गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पौड्याल र उपाध्यक्षमा एमालेकै माधुरी जैसवाल विजयी भएका छन् ।
    रोहिणी गाउँपालिका जितेको जनता समाजवादी पार्टीबाट अध्यक्षमा विद्याप्रसाद यादव र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ती चमार, मर्चवारी गाउँपालिका जितेको जनता प्रगतिशिल पार्टीबाट अध्यक्षमा गयाप्रसाद बरई र उपाध्यक्षमा सोही पार्टीकी आशा सिंह तथा कोटहीमाई गाउँपालिका जितेको लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्षमा बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा सोही पार्टीकी सुशिला कुमारी यादव विजयी हुनुभएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.