
काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले टिकापुर घटनाको आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ लगायतका ११ बुंदे ज्ञापनपत्र प्रधानमन्त्री शेरबहादु देउवालाई बुझाएको छ । लोसपाका अध्यक्ष महन्त ठाकुर लगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।
११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।

को हुन् त चौधरी :
कैलाली जिल्लाको साविकको देगौली गाविसमा २०३४ साल असोज २१ गते रेशम चौधरीको जन्म भएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका चौधरी थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधानसम्पादक रहेका थिए ।
साहित्यमा समेत दख्खल राख्ने चौधरीले रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारितासमेत गरेका थिए । बर्दियामा फूलबारी एफएफ समेत सञ्चालन गरेका चौधरीको टीकापुर घटनाका क्रममा एफएममा आगजनी भएको थियो । घटनामा भएको क्षतिको उनले १ करोड ७४ लाख क्षतिपूर्ति पाएका थिए ।
कैलाली घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजी गरिरहेकै बेला चौधरीले संसद्को चुनावमा भाग लिएर विजयी भएका थिए । कैलाली क्षेत्र नम्बर १ बाज राजपाका सांसदका उम्मेदवार बनेका चौधरी अत्याधिक मतसहित सांसद पदमा विजयी भएका थिए ।
चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।
डिल्लिबजार कारागारमा रहेको अवस्थामा नै सांसद चौधरीले सांसद पदको शपथ लिएका थिए । शपथपछि पनि जेलमै रहेका चौधरीलाई अदालतले बुधबार जन्मकैदको फैसला गरेको हो ।