
धनीराम कोरी
कपिलवस्तु । अखिल नेपाल किसान महासंघले विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रशासकीय अधिकृत गोविन्द भट्टराईलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएको छ । महासंघ विजयनगर गाउँपालिका कमिटीका उपाध्यक्ष दयारथ तेलि सहित पालिका पुगेको टोलीले ९ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको हो ।
विजयनगर गाउँपालिका उपाध्यक्ष र अधिकृतलाई बुझाएको ज्ञापनपत्रमा गत वर्षको बेमौसमी बर्षाले पुर्याएको धान, तरकारी बालिको क्षतिपूर्ति अविलम्ब प्रदान गर्ने, किसानलाई आवश्यक पर्ने विउ, मलखाद, विषादी र प्रविधिक सहयोग समयमै उपलब्ध गराउने, भुमिहिन किसानलाई तत्काल जग्गा उपलब्ध गराइ जमिनको मालिक बनाउने, लालपुर्जा दिने, किसानको उत्पादनको मुल्य समयमै निर्धारण गरि बजारको प्रत्याभूति गर्ने, कृषि बिमा सरल प्रकृयाबाट गराउन र प्रकोप जन्य क्षतिको न्यायोचित क्षतिपूर्ति दिलाउने, तिनै वटा सरकारले प्रदान गर्ने अनुदान उत्पादन आधारित हुने व्यवस्था गर्ने र बैंक ऋण एवम् सेवा सुविधाको लागि किसान महासंघ प्रतिनिधि सहितको सहजीकरण समिति गठन गर्ने, पालिकाको वडा तहसम्म किसान हेल्प-डेस्कको स्थापना र त्यसको प्रभावकारी सञ्चालन गर्ने, अनुदान मुल्याङ्कन गरि उत्कृष्ट किसानलाई वैज्ञानिक छनोट विधिबाट पुरस्कृत गर्ने, आ. व. २०७९/०८० मा किसानमैत्री बजेट तर्जुमा गर्ने समेत माग गरिएको छ ।
बर्षेनी हुँदै आइरहेको बाढि कटान र डुबानको समस्या समाधानका लागि आवश्यक तटबन्धको व्यवस्था गर्न अखिल किसान महासंघ विजयनगर गाउँकमिटीले गाउँपालिकासँग माग गरेको गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले किसानका मागप्रति गाउँपालिका सकारात्मक रहेको बताउँदै समस्याको बाटो खोजिने प्रतिबद्धता जनाउनुभयो । ज्ञापनपत्र बुझाउने क्रममा नेपाल किसान महासंघ जिल्ला सदस्य जितमान सुनार, पवित्रा कुँवर, शम्भु वि. क. लगायतको उपस्थिति रहेको थियो ।